अर्घाखाँची । कानुनले निषेध गरिसकेका विभिन्न कुप्रथा, हानिकारक परम्परा र गलत सामाजिक मूल्य–मान्यता अझै पनि समाजमा भित्रभित्रै कायम रहेको भन्दै तिनको न्यूनीकरणका लागि सामूहिक पहल आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् । ग्रामीण तथा पिछडिएका समुदायमा सामाजिक न्याय र सशक्तीकरणका लागि समुदाय स्तरबाटै सामाजिक सोच र व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिँदै अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ मा बहुसरोकारवालाबीच छलफल गरिएको छ । ‘सामाजिक न्यायका लागि रूपान्तरण अभियान’ अन्तर्गत ‘हाम्रो साहस परियोजना’द्वारा दलित महिला सङ्घ र युएन वुमनको सहकार्य तथा दलित चेतना विकास परिषद् नेपाल, अर्घाखाँचीको सहजीकरणमा बहुसरोकारवालासँगको छलफल कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा समाजमा अझै विद्यमान हानिकारक परम्परा, कुप्रथा तथा गलत मूल्य–मान्यताले महिला, दलित तथा पछाडि पारिएका समुदायलाई प्रत्यक्ष असर पारिरहेको विषयमा छलफल गरिएको थियो । यस्ता सामाजिक अभ्यास न्यूनीकरणका लागि स्थानीय सरकार, समुदाय, नागरिक समाज, सञ्चार क्षेत्र तथा सरोकारवाला सबैको भूमिका महत्त्वपूर्ण हुने सहभागीको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना प्रमुख विष्णु मगरातीले कानुनले निषेध गरेका कुप्रथा अझै समाजमा जरा गाडेर रहनु चिन्ताको विषय भएको बताए । यस्ता हानिकारक मान्यतालाई परिवर्तन गर्न भाषणमा मात्र सीमित नभई व्यवहारमै परिवर्तन ल्याउन आवश्यक रहेको उनको भनाइ थियो । ग्रामीण तथा पिछडिएका समुदायमा सामाजिक न्याय र सशक्तीकरणका लागि समुदायका अगुवासँग यस्ता कार्यक्रम सञ्चालन गर्नु सकारात्मक रहेको बताउँदै मगरातीले समाजमा रहेका हानिकारक परम्परा न्यूनीकरणमा संस्थाले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए । आफू स्थानीय सरकारको प्रमुखसमेत भएकाले यस्ता सामाजिक समस्या न्यूनीकरण गर्न प्रतिबद्ध रहेको उनले बताए । कार्यक्रममा भूमिकास्थान नगरपालिका–४ का अध्यक्ष बाबुराम पन्थी सुनारले समाजमा विद्यमान हानिकारक परम्परा न्यूनीकरणका लागि सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताए । कार्यक्रममा पत्रकार अनिल नेपालीले समाजमा रहेका हानिकारक तथा विद्यमान परम्पराका विषयमा सहजीकरण गरेका थिए । उनले दलित महिला सङ्घले महिलावादी अभियान, समावेशी सशक्तीकरण तथा जातीय, लैङ्गिक र अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा काम गर्दै आएको जानकारी दिए । उनका अनुसार संस्थाले समुदायसँग मिलेर विभिन्न परियोजना सञ्चालन गर्दै महिला सशक्तीकरण तथा दिगो विकासमा जोड दिँदै आएको छ । संस्थाले ‘हाम्रो साहस परियोजना’ अन्तर्गत सामाजिक हानिकारक मूल्य–मान्यता न्यूनीकरण एवं लैङ्गिक समानताका लागि सामाजिक मूल्य–मान्यता परिवर्तन परियोजना सञ्चालन गरिरहेको छ । परियोजनाको मुख्य लक्षित वर्गमा महिला, दलित समुदाय र युवा रहेका छन् । सामाजिक कुरीति न्यूनीकरण, संस्थागत क्षमता अभिवृद्धि तथा लैङ्गिक हिंसा न्यूनीकरण गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको बताइएको छ । कार्यक्रममा परम्परागत सोच र व्यवहार परिवर्तनका लागि यस्ता अभियान महत्त्वपूर्ण हुने बताइएको थियो । न्यायबाट टाढा रहेका, बेसहारा अवस्थामा जीवन बिताइरहेका तथा अन्याय र हिंसामा परेका महिलालाई जीविकोपार्जनसँग जोड्नसमेत सबैको सहयोग आवश्यक रहेकोमा जोड दिइएको थियो । कार्यक्रममा वडा सदस्य, कुसुम डाँडा पैरवी समूहका अध्यक्ष तथा सदस्य, बुद्धिजीवी लगायतले समाजमा रहेका हानिकारक परम्परा न्यूनीकरण गर्न सबैको भूमिका महत्त्वपूर्ण हुने बताएका थिए । संस्थाकी सहजकर्ता राधा नेपालीको अध्यक्षता तथा अनिल नेपालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो ।