पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना

  • बुधबार ७ असो २०८३ ०७:३४ PM
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रको व्यावसायिकता, विश्वसनीयता र संस्थागत गरिमा जोगाउन समग्र पत्रकारिता क्षेत्रले आफ्ना कमजोरीको निर्मम समीक्षा गरी सुधारको बाटोमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठानद्वारा बुधबार आयोजित ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोह २०८३’ लाई सम्बोधन गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले पत्रकारिता आफैँमा एउटा संस्था भएकाले यसको शाख, मर्यादा र विश्वसनीयता जोगाउने जिम्मेवारी कुनै एउटा व्यक्ति वा संस्थाको मात्र नभई समग्र पत्रकारिता क्षेत्रको भएको बताए । “पत्रकारिता भनेको आफैँमा एउटा संस्था हो । यो संस्थाको गरिमा हामी सबैले सामूहिकरूपमा जोगाउने र यसको स्तर उन्नति गर्ने हो । हाम्रो पत्रकारिताको शाख के कुराले कमजोर बनाइरहेको छ भन्ने कुरा सोच्ने जिम्मेवारी हरेक पत्रकारको हो”, उनले भने । सञ्चारमन्त्री डा तिमिल्सिनाले पत्रकारिताको मूल मर्म र व्यावसायिक मूल्यलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिँदै कस्तो पत्रकारिता र कस्ता सञ्चार संस्था निर्माण गर्ने भन्ने मूल प्रश्नको जवाफ खोज्नुपर्ने बताए ।  “हामीले कस्तो पत्रकारिता बनाउन खोजेका हौँ, कस्ता संस्था निर्माण गर्न खोजेका हौँ र कस्तो पत्रकारिता क्षेत्र निर्माण गर्न चाहन्छौँ भन्ने मूल प्रश्नको जवाफ दिनुपर्छ”, उनले भने । सञ्चारमन्त्री डा तिमिल्सिनाले पत्रकारिता क्षेत्रको सुरक्षा, व्यावसायिकता र पत्रकारको भविष्यका विषयमा गम्भीर प्रश्न उठिरहेको उल्लेख गर्दै आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेयता यी विषयको समाधानका लागि आवश्यक काम अघि बढाइरहेको बताए । उनले स–साना समस्यालाई लिएर एकअर्कामाथि आरोप लगाउँदै सडकमा जाने प्रवृत्तिले संस्थागत समस्या समाधान नहुने पनि स्पष्ट पारे । उनले विधि, विधान र संस्थागत प्रणालीलाई बलियो बनाएर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए । सार्वजनिक सेवा प्रसारण संस्थालगायत सार्वजनिक सञ्चार संस्थाको अवस्थाबारे पनि गम्भीर समीक्षा आवश्यक रहेको सञ्चारमन्त्री डा तिमिल्सिनाले बताए । उनले ती संस्थाको लामो इतिहास र नेपाली संगीत, सञ्चार तथा पत्रकारिताको विकासमा रहेको योगदानको स्मरण गर्दै पछिल्लो समय ती संस्थाहरू कमजोर अवस्थामा पुग्नुको कारण खोजिनुपर्ने बताए ।  “अर्बौंको सम्पत्ति भएको एउटा सञ्चार संस्थाले आफ्ना कर्मचारीको पेन्सन र सुविधाका लागि सरकारको अनुहारमा टुलुटुलु हेर्नुपर्ने अवस्था किन आयो