काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य पार्वती विशंखेले पार्टीको राजनीतिक कार्यशैली, जनसम्बन्ध, नेतृत्व र संगठनात्मक अवस्थाबारे आत्मसमीक्षा गर्नुपर्ने धारणा राखेकी छन् । काठमाडौंमा तीन दिनदेखि जारी केन्द्रीय समिति बैठकमा बुधबार धारणा राख्ने क्रममा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सम्बोधन भाषा, प्रस्तुति र विषयवस्तुका हिसाबले राम्रो भए पनि त्यसलाई अझ प्रभावकारी बनाउन केही महत्वपूर्ण विषयमा ध्यान दिनुपर्ने बताइन् । उनले आफूले उठाएका विषयलाई आलोचनाका रूपमा नभई आत्मसमीक्षा र सुधारको भावनाबाट हेर्न आग्रह गरिन् । उनले युग, समाज र मानिसको मनोविज्ञान परिवर्तन भइसके पनि आफूहरू भने नफेरिने भन्ने सोचले पार्टीलाई गन्तव्यमा पु¥याउन नसक्ने बताइन् । ‘युग फेरियो, जुगजमाना फेरियो, समाजको मनोविज्ञान फेरियो, सबै थोक फेरियो तर हामी आफू नफेरिने भन्ने खालको सम्बोधनमा छ । यो सोचले हामीलाई गन्तव्यमा पु¥याउँदैन, यो कुरा मिलाउनुपर्छ,’ उनले भनिन् । विशंखेले एमाले आम निर्वाचनमा पराजित भएको विषयलाई चुनावी हारजितमा मात्र सीमित गरेर हेर्न नहुने बताइन् । उनका अनुसार पार्टी चुनावी गणितमा मात्र नभई राजनीतिमा समेत पराजित भएको विषयमा गम्भीर समीक्षा आवश्यक छ । ‘चुनावमा हारजितलाई हामी स्वाभाविक रूपमा लिन्छौँ र लिनु पनि पर्छ । तर, पार्टी चुनावी गणितमा मात्र होइन, राजनीतिमा पनि पराजित भएको छ । चुनावमा हारियो भने फेरि जित्न सकिन्छ तर राजनीति हारियो भने उठ्न गाह्रो हुन्छ,’ उनले भनिन् । उनले निर्वाचन परिणामसँगै पार्टीको राजनीतिक कार्यशैली र जनसम्बन्धका विषयमा पनि गम्भीर समीक्षा गर्नुपर्ने बताइन् । कम्युनिष्टले आफूलाई केन्द्रमा नभई देश, पार्टी र समाजलाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ थियो । पार्टीभित्र ‘म’वादको प्रवृत्ति विकास भएको हो कि भनेर आत्मसमीक्षा गर्नुपर्ने उनले बताइन् । ‘म भन्ने होइन, हामी भन्नुपर्छ । कतै हाम्रो पार्टीमा “म”वादको विषवृक्ष हुर्किएको त होइन