महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले पूर्वसचेतताका लागि सार्वजनिक अपिल गरेको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा, महोत्तरीले यही असोज ९ गते शुक्रबारदेखि तीन दिन मधेस मुलुकका विभिन्न भेगमा हावाहुरीसँगै मेघगर्जन हुने, चट्याङ पर्ने र भारी वर्षा हुने अनुमान प्रक्षेपण गरेसँगै प्रशासनले सर्वसाधारणलाई सुरक्षित रहन सार्वजनिक अपिल गरेको हो । पूर्वसचेतनाका लागि स्थानीय तह, रेडक्रससहितका सामाजिक सङ्घ संस्था, प्रहरी र आमनागरिक समाज सचेत रहे क्षति हुनबाट जोगिन सकिने हुँदा यो अपिल जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । “जिल्लामा विपद्का बेला जनधनको क्षति भएको हामीसँग विगत अनुभव छ, त्यसबाट शिक्षा लिँदै अब सचेत रहन आवश्यक छ”, प्रजिअ यादवले भने । जिल्लामा रातु, मडहा, बाँके, जङ्घा, बिग्ही र कुटमेश्वरीसहितका नदीको बाढी बस्तीमा पसेर डुबान गरेका घटना छन् ।