शिलाको घर खर्चदेखि छोराको विद्यालय शुल्कसम्म: सहयोगी बन्दै समृद्धि ग्लोबल फाउन्डेसन

  • बुधबार ७ असो २०८३ ०२:२८ PM
काठमाडौँ । गोरखाकी शिला परियारलाई समृद्धि ग्लोबल फाउन्डेसनले आर्थिक तथा खाद्यान्न सामग्री सहयोग गरेको छ । काठमाडौँको टोखा नगरपालिका-स्थित चण्डेश्वरी मन्दिर नजिकै बसेर ज्याला मजदुरी गर्दै जीविकोपार्जन गरिरहेकी उनलाई बुधवार बिहान मन्दिर परिसरमा खाद्यान्न तथा राहत सामग्रीसहित आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । फाउन्डेसनका अध्यक्ष दिनेश थापा, सदस्य हरि थापा, कार्यकारी निर्देशक विवेक थापालगायतले परियारलाई संयुक्त रूपमा आर्थिक सहयोग तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए । आर्थिक अवस्था कमजोर रहेकी परियारका श्रीमानसमेत अस्वस्थ रहेकाले उनका सानो बच्चाको कक्षा १० सम्मको शिक्षा-दीक्षाको जिम्मेवारीसमेत फाउन्डेसनले लिएको कार्यकारी निर्देशक विवेक थापाले बताए । बुधवार नै फाउन्डेसनको टोली परियारका छोरा अध्ययनरत चण्डेश्वरी माध्यमिक विद्यालय पुगेका थिए । उनीहरूले विद्यालयमा छोराको यस वर्षको तिर्न बाँकी सबै शुल्कसमेत तिरिदिएका छन् । साथै, घर खर्च रकम पनि परियारलाई हस्तान्तरण गरिएको छ । फाउन्डेसनले यसअघि पनि परियारलाई खाद्यान्नसहित आर्थिक सहयोग गर्दै आएको थियो । पटक-पटक सहयोग गरेकोमा परियारले समृद्धि ग्लोबल फाउन्डेसनप्रति धन्यवाद ज्ञापन गरेकी छन् । फाउन्डेसनको सहयोगले आफूलाई धेरै राहत मिलेको बताउँदै उनले आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा रहेको बताइन् । समृद्धि ग्लोबल फाउन्डेसनले लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । केही दिनअघि फाउन्डेसनले रसुवाको बेत्रावती पुगेर भोटेकोसीका ३१ जना बाढीपीडित घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरेको थियो । त्यसअघि कोरोना महामारीको समयमा तथा २०७२ सालको भूकम्पबाट प्रभावितलाई समेत फाउन्डेसनले सहयोग गरेको थियो ।