सुनसरी । इटहरी उपमहानगरपालिका–२० तरहराबाट प्रहरीले साढे चार क्विन्टल गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । प्रहरीचौकी तरहराबाट खटिएको टोलीले गए राति पूर्व–पश्चिम कोशी लोकमार्गअन्तर्गत तरहरा–पानीपिया जङ्गलबाट बा२च ९५७३ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए । ‘त्रिवेणी सांस्कृतिक समूह’ लेखिएको उक्त एम्बुलेन्स शङ्कास्पद अवस्थामा देखिएपछि जाँच गर्दा प्लास्टिकका पोकामा लुकाइराखिएको अवस्थामा गाँजा फेला परेको सूचना अधिकारी खड्काले जानकारी दिए । बरामद गाँजा र एम्बुलेन्सलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको छ । फरार एम्बुलेन्स चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।