शताब्दीयौँदेखि श्रीमद्भगवद्गीता हाम्रो घरका पूजा कोठाहरूमा पवित्र रातो कपडामा बेरिएर, फूल र अक्षताले पूजा गरेर राखियो। यसमाथि श्रद्धाले ढोगियो, सम्मान गरियो; तर यसलाई खोल्ने र पढ्ने साहस कमैले गरे। समाजमा एउटा गलत भाष्य स्थापित गरियो—यो ग्रन्थ त सन्यास लिइसकेका वा उमेर ढल्किएका वृद्धहरूका लागि हो, यो हाम्रो दैनिक जीवनको विषय होइन, यो त ठूला दार्शनिक र पण्डितहरूको विषय हो। यही मानसिक दूरीका कारण गीता हामीबाट भौतिक रूपमा नभए पनि वैचारिक रूपमा टाढा रह्यो। तर आजको अशान्त, यान्त्रिक र विचलित समयको एउटा स्पष्ट माग छ—गीतालाई केवल पढ्ने होइन, बुझ्ने र आत्मसात् गर्ने बेला आएको छ। मानव इतिहास, सांस्कृतिक चेतना र दार्शनिक गहिराइमा प्रवेश गरेर हेर्दा कृष्ण कुनै साधारण ऐतिहासिक पात्र वा केवल पौराणिक कथाका नायक मात्र होइनन्। उनी समग्र अस्तित्व, सम्पूर्ण ब्रह्माण्ड र जीवनको जीवन्त प्रतीक हुन्। सनातन परम्परामा कृष्णावतारलाई 'पूर्ण अवतार' अर्थात् ईश्वरको पूर्णतम अभिव्यक्ति भनिएको छ। यसको अर्थ अन्य अवतारहरू अपूर्ण थिए भन्ने कदापि होइन, बरु कृष्णको व्यक्तित्वमा जीवनका अतिविपरीत र विविध आयामहरू एकैसाथ पूर्णताका साथ प्रकट भएका छन्। उनी ब्रजका गोपिहरूसँग लीलामय बन्ने चञ्चल बालक हुन्, मखन चोर्ने शरारती बालसखा हुन् र यमुनाको किनारमा सबैको हृदय मोहित पार्ने मोहक बाँसुरीवादक हुन्। उनी प्रेमको पराकाष्ठा हुन्, समर्पणका प्रतीक हुन्, कूटनीतिका शिखर हुन्, एक योगी हुन्। तर तिनै कृष्ण गोवर्धन पर्वतलाई औँलाले उचालेर प्रकृति र समाजको रक्षा गर्न पनि जान्दछन्। र, जब समय फेरिन्छ, तिनै कृष्ण कुरुक्षेत्रको खैलाबैला मच्चिएको, हजारौँ सेना आमनेसामने भएको भयानक युद्धको मैदानमा अर्जुनको साधारण सारथी बनेर उभिन्छन्। भीष्म, द्रोण र कर्णजस्ता महारथीहरूको सामुन्ने उनी दृढतापूर्वक उभिन्छन्। उनी राजनीतिका अत्यन्त कुशल, दूरदर्शी र चतुर रणनीतिकार हुन्। कठिनभन्दा कठिन परिस्थितिमा पनि नडगमगाई दृढ निर्णय लिन सक्ने सर्वोच्च व्यक्तित्व हुन् र सँगसँगै, सबै आसक्तिबाट माथि उठेका उच्चतम योगी पनि हुन्। यही अद्भूत बहुआयामिकता र विरोधाभासहरूको सुन्दर संयोजन नै कृष्णको सबैभन्दा ठूलो र विशिष्ट विशेषता हो। उनी कुनै निश्चित परिभाषामा अटाउँदैनन्। उनी परम स्वतन्त्रताका पक्षपाती हुन्। जीवन जति जटिल, विरोधाभासी र उतारचढावयुक्त हुन्छ, कृष्णको दर्शन त्यति नै बढी प्रासंगिक र जीवन्त देखिन्छ। आज हामी चौबीसै घण्टा तनाव, प्रतिस्पर्धा, अदृश्य असुरक्षा, आर्थिक दबाब, मानसिक खाडल र अनिश्चित भविष्यको कालो बादलमुनि बाँचिरहेका छौँ। यस्तो युगमा मानिसलाई कर्मकाण्डी आश्वासन वा केवल कोरा धार्मिक सान्त्वनाको मात्र होइन, बरु प्रत्येक संकटको आँखामा आँखा जुधाएर सामना गर्ने वैचारिक स्पष्टता र चेतनाको खाँचो छ। कृष्ण र उनको गीता आजको यही आधुनिक र छटपटाइरहेको मानव समाजको एउटा महत्वपूर्ण मनोवैज्ञानिक र आध्यात्मिक औजार हो, जसले हामीलाई भित्रैबाट बलियो बनाउन सक्छ। कुरुक्षेत्रको मैदान र कर्मयोगको साँचो स्वरूप आज हामी चारैतिर नजर डुलाएर हेर्यौँ भने चौतर्फी जटिलता र संकटका अनेकौँ रूपहरू देख्न सक्छौँ—प्राकृतिक विपद्, बाढी-पहिरो, महामारी, अचानक आइपर्ने मृत्यु, आर्थिक मन्दी, बेरोजगारी, पारिवारिक विघटन र भविष्यप्रतिको चरम असुरक्षा। मानिस भित्रैबाट एक्लो र भयभीत बन्दै गएको छ। यस्तो संवेदनशील र संकटपूर्ण समयमा जब बाटो देखिँदैन, तब मानिसलाई सान्त्वना होइन, यथार्थको धरातलमा उभिएर वर्तमान परिस्थितिको डटेर सामना गर्ने अदम्य साहस र चेतना चाहिएको छ। श्रीमद्भगवद्गीताको उपादेयता र सान्दर्भिकता ठ्याक्कै यही बिन्दुमा झल्किन्छ। श्रीकृष्णले अर्जुनलाई गीताको उपदेश कुनै शान्त, रमणीय र एकान्त आश्रममा बसेर दिएका थिएनन्। कुनै विलासी दरबार वा ध्यान कक्षमा ध्यान गरिरहेको बेला यो संवाद भएको थिएन। यो उपदेश जीवन र मृत्युको फैसला हुने, चारैतिर शंखध्वनि र हाहाकार मच्चिएको, आफन्तहरू नै आमनेसामने भएर काटिन तयार रहेको कुरुक्षेत्रको रक्तरञ्जित रणभूमिमा दिइएको थियो। जहाँ अर्जुन आफ्नै परिवार, गुरु र प्रियजनहरूलाई देखेर हताश भएका थिए, धनुषबाण भुइँमा खसालेर कर्तव्यविमुख बनेका थिए। त्यसैले गीता कुनै पलायनवादी दर्शन होइन; यो संसार छोडेर जंगल भाग्ने शिक्षा होइन। यो त समस्याबाट नभागी समस्याको महासागरको बीचमा उभिएर सर्वोच्च कर्म गर्ने साहसिक शिक्षा हो। कृष्णले अर्जुनको कातरतालाई तोड्दै कुरुक्षेत्रको मैदानमा जुन शाश्वत सत्य उजागर गरे, त्यसको केन्द्रबिन्दुमा कर्मयोग रहेको छ। जसलाई कृष्णले स्पष्ट रूपमा उद्घोष गरेका छन्— 'कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।' (भगवद्गीता २