काठमाडौं । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल कदम चाल्न माग गरेकी छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै त्रिपुरेश्वरमा सवारी चालकले ट्राफिकसँगको विवादपछि बसमा आगो लगाएर आत्मदाहको प्रयास गरेको घटनामा घाइते भएका व्यक्तिको मृत्यु भएकोप्रति दुःख व्यक्त गरिन्। उनले युवाहरू निराशाको तहमा पुग्नु र यस्ता घटना दोहोरिनु सामान्य विषय नभएको बताइन्। त्यसैगरी, राजनीतिक विश्लेषक भरत दाहाललाई मोरङबाट प्रहरीले पक्राउ गरेको विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराइन्। साइबर ब्युरोले युट्युबमार्फत भ्रामक सामग्री फैलाएको आरोप लगाएको उल्लेख गर्दै उनले आरोप लाग्नु र दोषी प्रमाणित हुनु फरक कुरा भएको बताइन्। उनले कुन भिडियो वा सामग्रीका कारण पक्राउ गरिएको हो र कुन कानुनी दफाअन्तर्गत कारबाही अघि बढाइएको हो भन्ने विषय पारदर्शी हुनुपर्ने बताइन्। गलत सूचना फैलाइएको भए कानुनअनुसार अनुसन्धान र कारबाही हुनुपर्ने तर सरकारको आलोचना गरेकै आधारमा नागरिक पक्राउ पर्न नहुने उनको भनाइ थियो। ‘लोकतन्त्र भनेको सरकारको प्रशंसा मात्र सुन्ने व्यवस्था होइन, असहज प्रश्न सहने तागत पनि हो,’ उनले भनिन्, ‘अभिव्यक्ति स्वतन्त्रताका नाममा झुट फैलाउने छुट कसैलाई छैन, तर साइबर कानुनको आडमा वैधानिक आलोचनालाई अपराध बनाउने अधिकार पनि राज्यलाई छैन।’ उनले धादिङ र गोरखाका नागरिकको जनजीवनसँग जोडिएको फुर्के खोलाको पक्की पुल बाढीले बगाएको २८ दिन बितिसक्दा पनि पुनर्निर्माण हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। त्रिशूली नदीमाथिको उक्त पुल धादिङ सदरमुकाम, त्रिशूलीपारिका आठ पालिका र उत्तरी गोरखाका लाखौँ नागरिकका लागि महत्वपूर्ण सडक रहेको उनले बताइन्। फुर्के खोलामा तत्काल १०० मिटरको बेलिब्रिज निर्माण गर्न माग गर्दै उनले नुवाकोटको ढुङ्गे र त्रिशूली बजार जोड्ने बेलिब्रिज निर्माण प्रक्रिया अघि बढिसकेको अवस्थामा फुर्के खोलामा पनि निर्माण गर्न सकिने बताइन्। घाटबेँसी, जरेखेत, बेलकोटगढी र गल्छीको केउरिनी–फोस्रेटार जोड्ने पक्की पुल तथा गल्छी, चरौँदी र घ्याल्चोक जोड्ने झोलुङ्गे पुल बग्दा स्थानीयको जनजीवन प्रभावित भएको उनले बताइन्। पुल नहुँदा छोटो दूरीको विद्यालय पुग्न बालबालिका घुमेर जानुपर्ने र किसानले दूध तथा तरकारी बजारसम्म पु¥याउन नसकेको उनको भनाइ थियो। उनले फुर्के खोलामा तत्काल बेलिब्रिज निर्माण गर्न तथा अन्य पक्की र झोलुङ्गे पुल पुनर्निर्माणका लागि प्राविधिक टोली खटाएर ठेक्का प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरिन्।