राजमार्गका खाल्डाखुल्डी तत्काल पुर्न रास्वपा सचेतक परियारको माग

  • मङगलबार ६ असो २०८३ ०२:३९ PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले तत्काल राजमार्गका खाल्डाखुल्डी पुर्न माग गरेका छन् ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दशैं मनाउन काठमाडौं उपत्यकाबाट मात्रै बर्षेनी १५ लाख बढी नागरिक थातथलो फर्कने गरेको बताए । ‘पहिले त टिकट पाउनै महाभारत, अनी भेडाबाख्राझैं कोचिएर यात्रा गर्न बाध्यता । एकातिर बाटोको खाल्डाखुल्डीले थिलथिलो हुनु परेको छ भने अर्कातीर मनपरी भाडाले प्रताडित,’ उनले भने, ‘यो अवस्था पोहोर साल सम्मको हो ।’ उनका अनुसार लाखौं यात्रीलाई सहज यात्रा गराउन सरकारको पूर्वतयारी अत्यावश्यक छ ।‘म सरकारसँग माग गर्दछु, तत्काल राजमार्गका खाल्डाखुल्डी पुरियोस, अग्रिम टिकटलाई ब्यवस्थित गरियोस, भाडादर नियन्त्रण गरी सुरक्षित यात्रा सुनिश्चित गरियोस्,’ उनले भने । सचेतक परियारले थपेका छन्, ‘आगलागी पछि मात्र कुवा खन्ने शैली पाल्ने हैन, फाल्ने हो । तब न बालेन सरकार ।’