हेटौँडा । बागमती प्रदेश सरकारले आगामी असोज नौ गते शुक्रवारदेखि ११ गते आइतबारसम्म प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन प्रदेशवासीलाई आग्रह गरेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रदेश सरकारको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले अत्यन्त जरुरी सूचना जारी गर्दै आवश्यक सावधानी र पूर्व तयारी अपनाउन आग्रह गरेको हो । मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार उक्त अवधिमा बागमती प्रदेशका विभिन्न स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ । मन्त्रालयका अनुसार भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो, गेग्र्यान बहाव तथा डुबान हुन सक्ने जोखिम रहेको छ । वर्षाका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ । मन्त्रालयले नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भूभाग, भिरालो जमिन तथा डुबान हुन सक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। जोखिमको सङ्केत देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न भनिएको छ । त्यसै गरी, अति आवश्यक अवस्थाबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न मन्त्रालयले आग्रह गरेको छ । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिनसमेत अनुरोध गरिएको छ । पशु चौपाया, खाद्यान्न, औषधि, महत्त्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न पनि मन्त्रालयले आग्रह गरेको छ । प्रदेश सरकारका सम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवालालाई आवश्यक पूर्व तयारीसहित सतर्क अवस्थामा रहन निर्देशन दिइएको छ । जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी मिलाउनसमेत आग्रह गरिएको छ । मन्त्रालयले नेपाल मौसम विज्ञान विभाग, सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्व सूचना तथा चेतावनी नियमित रूपमा हेर्न र सम्बन्धित निकायको निर्देशन पालना गर्न सबैमा अनुरोध गरेको छ । वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १००, सशस्त्र प्रहरी बल, नेपालका लागि १११४ तथा मन्त्रालयगत विपद् सम्पर्क व्यक्ति ९७६९७६१२१४ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले आधिकारिक सूचनालाई मात्र आधार बनाउन र अफवाहमा विश्वास नगर्नसमेत प्रदेशवासीलाई आग्रह गरेको छ ।