काठमाडौँ । त्रिपुरेश्वरमा हिजो भएको घटनामा इन्द्रसरोवर गाउँपालिका-सिस्नेरी, मकवानपुरका अर्जुन दोङ तामाङले दाबा लामाको नाममा जारी भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार अर्जुन दोङ तामाङले विभिन्न घटनामा फरक–फरक व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा कागजात प्रयोग गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । प्रहरीका अनुसार अर्जुन दोङ तामाङका बाबुको नाम श्यामबहादुर दोङ तामाङ र आमाको नाम बिनु तामाङ रहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा अर्जुन गत कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा समेत संलग्न रहेको र घटनापश्चात् फरार रहेको बुझिएको प्रहरीले जनाएको छ । उक्त घटनाको समयमा उनले सुनिल तामाङको नाममा जारी भएको सवारी चालक अनुमति पत्र प्रयोग गरेको पाइएको प्रहरीको भनाइ छ । त्यसै गरी, करिब तीन महिनाअघि मुलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा समेत उनले दाबा तामाङको नाममा जारी भएको सवारी चालक अनुमति पत्र प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्रिपुरेश्वरमा हिजो भएको घटनामा भने उनले दाबा लामाको नाममा रहेको सवारी चालक अनुमति पत्र प्रयोग गरेको पाइएको एसएसपी घिमिरेले जानकारी दिए । प्रहरीका अनुसार अनुसन्धानका क्रममा अर्जुनले दाबा लामाको नाममा रहेको बैङ्क खाता तथा नागरिकतासमेत प्रयोग गरी विभिन्न घटनामा संलग्न भएको हुन सक्ने तथ्यहरू समेत बुझिन आएका छन् । निजले अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा कागजात प्रयोग गरेको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।