अर्घाखाँची । अर्घाखाँचीका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यार्थीलाई लक्षित गरी ट्राफिक सचेतनासम्बन्धी प्रशिक्षण कार्यक्रम विभिन्न चरणमा सम्पन्न भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, अर्घाखाँचीको समन्वयमा जिल्लाभरका विद्यालयमा यस्ता सचेतनामूलक अभियान सञ्चालन हुँदै आएका छन् । जिल्लाका अधिकांश विद्यालयमा पुगेर विद्यार्थीलाई ट्राफिक नियमबारे जानकारी गराउने र सचेत बनाउने उद्देश्यले विद्यालय स्तरमा कार्यक्रम आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक लीलबहादुर कुँवरले बताए । कुँवरका अनुसार सोमबार सन्धिखर्क नगरपालिका-१२, डिर्भनामा रहेको ज्ञान प्रकाश माध्यमिक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । ट्राफिक नियम पालनामा ध्यान नदिँदा विभिन्न किसिमका सडक दुर्घटना हुने गरेको बताउँदै उनले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यालय स्तरमा ट्राफिक सचेतना अभियान थालिएको जानकारी दिए । कार्यक्रममा विद्यालयमा कक्षा आठ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई ट्राफिक नियम पालनाका विषयमा जानकारी गराइएको थियो । विद्यार्थीलाई सडक प्रयोग, सडक चिह्नको प्रयोग तथा सवारीसाधन प्रयोग गर्ने तरिकाबारे जानकारी गराउँदै सचेत बनाइएको ट्राफिक प्रमुख कुँवरले बताए । यसै गरी, यातायात व्यवस्था ऐन, २०४९ का विषयमा जानकारी गराउनुका साथै सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे पनि विद्यार्थीलाई जानकारी दिइएको थियो । यसअघि सवारी चालकलाई ट्राफिक नियम पालनाका विषयमा जानकारी गराउँदै आएको जिल्ला ट्राफिक प्रहरीले अब जिल्लाका सबै विद्यालयमा पुगेर विद्यालय स्तरीय ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको ट्राफिक प्रमुख कुँवरले बताए । ट्राफिक प्रहरीले जिल्लामा विद्यालय स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै अन्य नियमित कार्यक्रमलाई समेत निरन्तरता दिँदै आएको छ ।