अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ठुलो बरापमा सीमान्तकृत समुदायका नागरिकलाई कानुनी अधिकार, कर्तव्य र प्रक्रियाबारे जानकारी गराउन जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) दिवसबहादुर जिसी स्वयं गाउँमै पुगिरहेका छन् । सामाजिक रूपान्तरण गर्ने मुख्य उद्देश्यसहित कानुनी जागरूकता तथा परामर्श सेवाका लागि सञ्चालित घुम्ती क्लिनिक कार्यक्रम ठुलो बरापमा सम्पन्न भएको हो । ‘हाम्रो साहस’ कार्यक्रमको आयोजना तथा दलित चेतना विकास परिषद् अर्घाखाँचीको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो । गाउँ-गाउँमा कानुनी पहुँच नपुगेका नागरिकलाई उनीहरूकै आँगनमा पुगेर कानुनी अधिकार, कर्तव्य तथा कानुनी प्रक्रियाबारे सचेत गराउने उद्देश्यले घुम्ती क्लिनिक सञ्चालन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा प्रमुख वक्ताका रूपमा डिएसपी जिसीले आम नागरिकले जान्नुपर्ने आधारभूत कानुनी व्यवस्था, अपराध नियन्त्रण, विद्युतीय अपराध तथा समाजमा हुने विभिन्न हिंसाका घटनाबारे सरल र व्यावहारिक तरिकाले जानकारी गराएका छन् । उनले कानुनी अज्ञानताका कारण धेरै मानिस ठगी तथा पीडामा पर्ने गरेको उल्लेख गर्दै यस्ता कार्यक्रमले सर्वसाधारणमा कानुनी चेतना फैलाउन ठुलो मद्दत पुर्याउने बताए । त्यसै गरी, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद बेल्वासे तथा सहायक जिल्ला न्यायाधिवक्ता विष्णुहरि मरासिनीले कानुन, शिक्षा, नागरिक अधिकार तथा कानुनी उपचारका दायराबारे सचेतनामूलक मन्तव्य राखेका थिए । घुम्ती क्लिनिकको मुख्य आकर्षणका रूपमा स्थानीय सर्वसाधारणका लागि खुला परामर्श सत्रसमेत सञ्चालन गरिएको थियो । त्यसै क्रममा स्थानीय बासिन्दाले आफूले भोगिरहेका विभिन्न कानुनी उल्झन, समस्या तथा जिज्ञासा प्रत्यक्ष रूपमा राखेका थिए । कार्यक्रममा सहभागी कानुनी तथा प्रशासनिक निकायका प्रतिनिधिले सर्वसाधारणका प्रश्नको कानुनी उत्तर दिँदै समस्या समाधानका उपाय तथा आवश्यक प्रक्रियाबारे परामर्श प्रदान गरेका छन् । कार्यक्रममा जिल्ला बाल सङ्गठनका सभापति रामचन्द्र पोखरेल, अर्घाखाँचीका वरिष्ठ कृषक पुष्कर बन्जाडे, गैरसरकारी महासङ्घ अर्घाखाँचीका अध्यक्ष ठाकुरप्रसाद अधिकारी, दलित अधिकारकर्मी सञ्जय नेपाली, सृजनशील फाउन्डेसन नेपाल अर्घाखाँचीका अध्यक्ष फर्सुराम पाण्डेलगायतले आफ्ना विचार राखेका थिए । ‘हाम्रो साहस’की जिल्ला संयोजक राधा नेपालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न सामाजिक सङ्घ-संस्थाका प्रतिनिधि, सरकारी कार्यालयका पदाधिकारी, बुद्धिजीवी, पत्रकार तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।