अर्थ मन्त्रालयका चार सहसचिवको जिम्मेवारी हेरफेर, प्रमुख कर प्रशासक शर्माले दिए राजीनामा

  • सोमबार ५ असो २०८३ ०८:५४ PM
काठमाडौँ । अर्थ मन्त्रालयले चार जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयका अनुसार बजेट महाशाखा प्रमुख रहेका सहसचिव सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । राजस्व व्यवस्थापन महाशाखा प्रमुखको पद केही समयदेखि रिक्त थियो । दाहाललाई उक्त जिम्मेवारी दिएपछि बजेट व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी भने हालै लुम्बिनी प्रदेशबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका बन्धुप्रसाद बास्तोलालाई दिइएको छ । त्यस्तै, हालै कोसी प्रदेशबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका सहसचिव नारायणप्रसाद रिसाललाई भन्सार विभागको उप-महानिर्देशकको जिम्मेवारी दिइएको छ । यस्तै, प्रेम आचार्यलाई ठुला करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी दिइएको छ । ठुला करदाता कार्यालयका प्रमुख कर प्रशासक केदारनाथ शर्माले राजीनामा दिएपछि उक्त पद रिक्त भएको हो । शर्मा यसै वर्षको फागुनमा ५८ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदै थिए । अवकाशमा जानु करिब ६ महिना अघि नै उनले राजीनामा दिएका हुन् । त्यसै गरी, हालै लोकसेवा आयोग, कोसीबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका सहसचिव गोकुल बास्तोलालाई सह-महालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ ।