काठमाडौं । भोटेकाशी बाढी प्रभावितहरुलाई राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले उबरले ‘राइड फर नेपाल’ अभियान सुरु गरेको छ । सेप्टेम्बर २१ देखि अक्टोबर २०, २०२६ सम्म सञ्चालन हुने अभियानमार्फत् उबरले नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उबरले अन्तराष्ट्रिय सीएसआर फण्डमार्फत् यो सहयोग गर्दैछ । उबरका अनुसार उक्त रकम आपतकालीन राहत सामग्री, अस्थायी आश्रय तथा पुनस्र्थापनाका काममा उपयोग गरिनेछ । अभियान अवधिमा उबरमार्फत सम्पन्न हुने प्रत्येक बाइक यात्राबापत १० रुपैयाँ र प्रत्येक क्याब यात्राबापत २० रुपैयाँका दरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उबरले आफ्नै तर्फबाट थप रकम योगदान गर्नेछ । यो रकम उबर यात्रु वा चालकबाट कट्टा गरिने छैन । यात्रुले नियमित भाडा नै तिर्नेछन् भने चालकले पनि साविककै रकम प्राप्त गर्नेछन् । नेपालका लागि उबरका रणनीतिक साझेदार ट्याक्सीमाण्डुका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन केसीले विपद्को समयमा यात्रु र चालकको सहभागिताले राहत अभियानलाई थप प्रभावकारी बनाउने बताए । उबरको अन्तर्राष्ट्रिय बजार प्रमुख, (भारत तथा दक्षिण एसिया) आकांक्षा सिंहले पनि समुदायप्रतिको जिम्मेवारी मोबिलिटी सेवामा मात्र सीमित नरहेको बताइन् । उबरले यात्रुलाई नियमित रूपमा राइड बुक गर्न तथा चालकलाई अनलाइन भएर राइड स्वीकार गरी यात्रा पूरा गर्न आग्रह गरेको छ । ‘जति धेरै राइड, त्यति धेरै सहयोग’ भन्ने अभियानको मूल उद्देश्य दैनिक यात्रालाई बाढी प्रभावितको पुनर्निर्माणसँग जोड्नु रहेको उबरले जनाएको छ ।