स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ’

  • सोमबार ५ असो २०८३ ०६:३१ PM
तेह्रथुम । रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती रित्तिँदै गएका छन् । बेरोजगारीलाई राष्ट्रिय समस्याका रूपमा लिइरहँदा म्याङलुङ नगरपालिका–४ डाँडाखर्ककी तुलसा खनाल बुढाथोकीले भने आफ्नै गाउँको माटोमा पसिना र सीप खर्चिएर वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आएकी छिन् । करिब २० रोपनी क्षेत्रफलमा ५० वटा टनेल निर्माण गरी उनले व्यावसायिक सागसब्जी खेती गर्दै आएकी छिन् । टमाटर, भन्टा, अकबरे खुर्सानी, काक्रो, बोडी र विभिन्न जातका सागसब्जी उत्पादन गर्दै आएकी तुलसालाई बिहान ४ः०० बजेदेखि साँझसम्म खेतीको कामले फुर्सद हुँदैन । “आफ्नै माटोमा मेहनत गर्न सक्यो भने पैसा पनि यहीँ फल्दोरहेछ”, बुढाथोकी भन्छिन्, “ढङ्ग पु¥याएर मेहनत गर्ने हो भने सरकारी जागिरभन्दा तरकारी खेती निकै जाती ।” उनको परिवारका अन्य सदस्य पनि खाली छन् । श्रीमान् सरकारी सेवामा छन् भने ससुरा पनि सरकारी सेवाबाट अवकाश प्राप्त पूर्वकर्मचारी छन् । खनालको परिवारले सागसब्जी खेतीसँगै करिब ८० रोपनी क्षेत्रफलमा धान खेती पनि गर्दै आएको छ ।  धानखेतीको जिम्मेवारी ससुराले सम्हाल्दै आएकी छिन भने तुलसाले मुख्य रुपमा सागसब्जी खेतीको व्यवस्थापन गर्छिन् । श्रीमान् सरकारी सेवामा रहे पनि बिहान–बेलुका सागसब्जी खेतीमा सहयोग गर्छन् । सागसब्जी खेतीका लागि दुई जना गाउँकै महिलालाई स्थायी कामदारका रुपमा जिम्मेवारी दिइएको छ ।  उनिहरुलाई मासिक रु १८ हजार पारिश्रमिक दिने गरिएको छ । कामको चापअनुसार थप श्रमिक पनि बोलाउने गरिएको छ ।  त्यस्तै, बोलाइएका श्रमिकलाई कामको प्रकृतिअनुसार दैनिक रु ५०० देखि रु एक हजार ५०० सम्म दिने गरिएको तुलसा बताउछिन् । बुढाथोकी परिवारले करिब १६ वर्षअघि १२–१५ वटा टनेलबाट व्यावसायिक सागसब्जी खेती सुरु गरेका थिए । सृजनशील कृषि फर्म दर्ता गरी सञ्चालन गर्दे आएकी उनले विसं २०७६ मा प्रदेश सरकारबाट रु पाँच लाख अनुदान प्राप्त गरिन् । त्यसपछि थप टनेल विस्तार गरी ५० वटा पुर्याएको उनले बताइन् ।  “सुरुमा डेढ–दुई लाख रुपैयाँबाट खेती थालेका थियौँ”, उनले भनिन्, “यहाँबाट भएको कमाईलाई फेरि यही व्यवसायमा थप्दै र लगानी गर्दै जाँदा अहिले करिब रु ८० लाख पुगेको छ ।” हटियामा एक पटकमा रु १० हजारदेखि रु ४० हजारसम्मको सागसब्जी बिक्री हुने गरेको तुलसा बताउछिन् । उनले हप्तामा दुई पटक सागसब्जी बजारमा बिक्रीका लागि लैजाने गर्छिन् ।  विशेषगरी बेमौसमी सागसब्जीको बजार राम्रो रहेको उनको अनुभव छ । कामदारको पारिश्रमिक, मल, बीउलगायतका खर्च कटाएर वार्षिक करिब रु १५ लाख खुद नाफा हुने गरेको उनि बताउछिन् । तुलसाका श्रीमान् यसअघि म्याङलुङ बजारमा साइबर सञ्चालन गर्थे । विसं २०६० तिर वैदेशिक रोजगारीका लागि दुबई पुगेका उनि विदेशको दुःख र सङ्घर्ष देखेपछि स्वदेशमै केही गर्ने सोच बनाएर फर्किएका थिए ।  त्यसपछि श्रीमान्–श्रीमती मिलेर १०–१२ वटा टनेलमा सागसब्जी खेती सुरु गरेका थिए । विसं २०७० सालयता उनका श्रीमान्ले जिल्ला अस्पताल तेह्रथुममा करार सेवामा काम गर्न थाले भने तुलसाले सागसब्जी खेतीलाई थप विस्तार गर्दै व्यावसायिक रूपमा सञ्चालन गर्न थाले । सागसब्जी खेतीबाट भएको आम्दानीले परिवारको आर्थिक अवस्था सुधारिनाका साथै छोराछोरीको शिक्षामा पनि सहयोग पुगेको छ । म्याङलुङ बजार र इटहरीमा घर निर्माण गरिएको छ । छोरी स्नातक तह तेस्रो वर्षमा आइटी इन्जिनियरिङ अध्ययनरत छिन् भने छोरा कक्षा १२ मा अध्ययनरत छन् । छोराछोरीको शैक्षिक खर्चमा मासिक रु ६०–७० हजारसम्म खर्च हुने तुलसा बताउछिन् । “सागसब्जी खेतीबाट भएको आम्दानीले छोराछोरीको पढाइदेखि घरायसी खर्चसम्म धान्न सहयोग पुगेको छ”, उनले भनिन् । म्याङलुङ बजारको टुँडिखेलमा लाग्ने मङ्गलबार र शुक्रबारको हटियाका लागि उनको टोलबाट मात्रै दुई वटा ट्याक्टरमा सागसब्जी जाने गरेको छ । विगतमा डोकोमा बोकेर बजार पुर्याउनुपर्ने भए पनि पछिल्ला पाँच–सात वर्षयता सडक विस्तार भएपछि सागसब्जी बजारसम्म पुर्याउन सहज भएको उनले बताइन् । बिहान ४ः०० बजे नै खेतमा पुगेर बोटबिरुवाको अवस्था हेर्ने, रोग–किरा हटाउने, उत्पादन टिप्ने र बजार व्यवस्थापन गर्ने तुलसाका लागि कृषि व्यवसाय अहिले आम्दानीको माध्यम मात्र नभएर परिवारको भविष्य निर्माण गर्ने आधार पनि बनेको छ । तुलसाको १६ वर्षे कृषि यात्राले रोजगारीका लागि विदेशिनैपर्छ वा सरकारी जागिरमै निर्भर हुनुपर्छ भन्ने होइन, आफ्नै ठाउँमा उपलब्ध माटो, श्रम, सीप र स्रोत–साधनको सदुपयोग गर्न सके अवसरका ढोका खोल्न सकिन्छ भन्ने देखाएको छ ।  उनको सफलताले गाउँमा बाझिँदै गएका जमिनलाई उत्पादनसँग जोड्न सके आम्दानीसँगै रोजगारीका अवसरसमेत सिर्जना गर्न सकिने सन्देश दिएको छ । “आफ्नै गाउँको माटोमा मेहनत गर्न सके यहीँबाट राम्रो आम्दानी गर्न सकिन्छ”, खनाल भन्छिन्, “आफ्नै ठाउँमा भएको स्रोत र सीपलाई सदुपयोग गर्न सके परिवारसँगै बसेर काम गर्न र कमाउन सकिन्छ ।”