उद्योग सचिवमा रुद्रसिंह तामाङ, नारायणप्रसाद शर्मा प्रधानमन्त्री कार्यालयमा

  • सोमबार ५ असो २०८३ ०२:०८ PM
काठमाडौँ । सरकारले सहसचिवबाट सचिवमा बढुवा भएका रुद्रसिंह तामाङलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ ।  पछिल्लो मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयमा कार्यरत सचिव नारायणप्रसाद शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्दै तामाङलाई उद्योग मन्त्रालयको सचिवमा पदस्थापन गरेको हो । शर्मा उद्योग मन्त्रालयको सचिवको जिम्मेवारीमा आएको करिब दुई महिना मात्रै भएको थियो । सरकारले गत असार ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सचिव शर्मालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको थियो । त्यस बेला उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाउँदै शर्मालाई अख्तियारबाट उद्योग मन्त्रालयमा ल्याइएको थियो ।