एउटै घरभित्र तीन दशकको इतिहास

  • सोमबार ५ असो २०८३ ०१:०२ PM
धनकुटा । धनकुटा नगरपालिका–६ सिरान बजारमा रहेको एउटा घर बाहिरबाट हेर्दा सामान्य घरजस्तै देखिन्छ तर घरभित्र पस्नेबित्तिकै त्यहाँको वातावरण फरक महसुस हुन्छ । कोठाका दराज, भित्ताका कुनाकाप्चा र र्‍याकमा सजाएर राखिएका पुराना सामग्रीले आगन्तुकलाई दशकौँ पुरानो समयतिर पुर्‍याउँछ ।  घरभित्र कुनै समय नेपाली समाजको दैनिकीमा प्रयोग भएका रेडियो, ग्रामोफोन र टेलिफोन रहेका छन् । पुराना भाँडाकुँडा र कृषि औजार पनि छन् । राणा शासनकालको इतिहास सम्झाउने चन्द्रशमशेरकालीन इँटा र माटाका पाइप छन् । धनकुटाको पुरानो स्वरुप देखाउने दुर्लभ तस्बिर रहेका छन् । त्यति मात्र होइन, नेपालको प्रजातान्त्रिक आन्दोलनसँग जोडिएका महत्वपूर्ण दस्तावेज पनि त्यहीँ सुरक्षित रहेका छन् । तीमध्ये एउटा सामान्य देखिने कागजले विशेष अर्थ राख्छ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनका क्रममा नेपाली काँग्रेसका तत्कालीन राजनीतिक कमिसार गिरिजाप्रसाद कोइरालाले जयनारायण श्रेष्ठसँग भरुवा बन्दुक र गोली लिएको भर्पाइ हो त्यो । बन्दुक फिर्ता गर्ने शर्तमा बनाइएको भर्पाइ हो त्यो । तर, बन्दुक लिएको प्रमाणका रुपमा तयार पारिएको त्यो कागज भने पुस्तौँ पार गर्दै अहिले पनि सुरक्षित रहेको छ । यस्ता ऐतिहासिक सामग्रीको संरक्षण धनकुटा नगरपालिका–६, सिरान बजारका मनोजनारायण श्रेष्ठ गर्दै आएका हुन् ।  शहीद भीमनारायण श्रेष्ठका जेठा छोरा श्रेष्ठले तीन दशकभन्दा बढी समयदेखि पुराना वस्तु, ऐतिहासिक कागजात, तस्बिर तथा स्मृति चिन्ह सङ्कलन गर्दै आफ्नै घरलाई सानो तर महत्वपूर्ण सङ्ग्रहालयका रूपमा विकास गरेका हुन् । उनले स्थापना गर्नुभएको शहीद भीमनारायण श्रेष्ठ स्मृति सङ्ग्रहालय अहिले धनकुटाको सामाजिक, सांस्कृतिक, राजनीतिक र ऐतिहासिक स्मृतिको एउटा निजी अभिलेखजस्तै बनेको छ । एक विदेशीको प्रश्नले सुरु भएको संरक्षण यात्रा मनोजनारायण श्रेष्ठको पुराना वस्तु सङ्कलन गर्ने यात्रा कुनै पूर्वयोजनाबाट सुरु भएको थिएन । एउटा सामान्य घटनाले उहाँलाई पुराना सम्पदा र वस्तुको महत्वबारे सोच्न बाध्य बनाएको थियो । २०५१ सालमा उनि जापानी नागरिकहरूसँग काम गर्थे । एक दिन जापानी टोलीलाई लिएर धनकुटा बजारको हुलाकटोल हुँदै चारचौतारातर्फ जाने क्रममा अहिलेको जिल्ला प्रहरी कार्यालय नजिक पुगेपछि टोलीका सदस्यहरुले अचानक गाडी रोकेर हिँड्न लगाएका थिए । त्यो बेला सडकमा बिछ्याइएको पुरानो ढुङ्गा हेर्न उनीहरू गाडीबाट ओर्लिएको मनोजनारायणले बताए । ‘‘उनीहरु किन गाडीबाट ओर्लिए भनेर दोभासेमार्फत सोधेको थिएँ”, श्रेष्ठ सम्झाउँन्छन्, ‘‘उनीहरुले त्यो ढुङ्गे सडक पुरातात्विक सम्पदा भएकाले त्यसको संरक्षण गर्नुपर्ने र त्यसमाथि गाडी चलाउँदा ढुङ्गा फुट्नसक्ने बताएका थिए ।’’  विदेशी नागरिकले धनकुटाको एउटा पुरानो ढुङ्गाप्रति देखाएको संवेदनशीलताले उनिलाई गहिरो प्रभाव पारेको उनको भनाइ छ । “धनकुटा हाम्रो, बाटो हाम्रो, ढुङ्गा पनि हाम्रो, तर त्यसको माया चाहिँ विदेशीलाई लाग्ने