काठमाडौँ । राष्ट्रिय सभा सदस्य सोमनाथ पोर्तेलले दलित समुदायको उत्थान र विकासका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले दलित समुदायका लागि छुट्टाइएको बजेटसमेत कटौती गरेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकको शून्य समयमा पोर्तेलले रास्वपाले जनमतको बाढी ल्याए पनि उक्त बाढीले दलित समुदायको बजेटसमेत बगाएको टिप्पणी गरे । उनले भने,‘सम्माननीय अध्यक्ष महोदय, दलित समुदायको उत्थान र विकासका लागि विशेष कार्यक्रम ल्याउने बाचा गरेको रास्वपाले जनमतको बाढी नै ल्यायो । त्यो बाढीले अरू के–के बगायो थाहा छैन, तर दलित समुदायको बजेटचाहिँ बगाएछ ।’ पोर्तेलका अनुसार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले दलित समुदायको परम्परागत पेसा प्रवर्द्धनका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, वर्तमान सरकार गठन हुने बित्तिकै २०८३ वैशाखमा उक्त बजेटमध्ये ४० करोड रुपैयाँ रकमान्तर गरिएको उनले बताए । बाँकी रहेको १० करोड रुपैयाँमध्ये पनि तीन करोड ५० लाख १७ हजार पाँच सय ५६ रुपैयाँ मात्रै लाभग्राहीले प्राप्त गरेको र करिब साढे ६ करोड रुपैयाँ बजेट फ्रिज गरिएको पोर्तेलको भनाइ छ । उनका अनुसार उक्त कार्यक्रमअन्तर्गत एक हजार ६ सयभन्दा बढी व्यवसायीलाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्य राखिएको थियो । तर, हालसम्म एक सय १५ जना व्यवसायीले मात्रै त्यसको लाभ प्राप्त गरेका छन् । पोर्तेलले वर्तमान सरकारले दलित समुदायका लागि नयाँ बजेट विनियोजन नगरेको मात्र नभई विगतको सरकारले छुट्टाएको बजेटसमेत खोसेको आरोप लगाए । ‘यो सरकारले आफूले त दलित समुदायको पक्षमा बजेट छुट्टाएन नै । विगतको सरकारले छुट्टाइदिएको बजेटसमेत खोसेको छ,’ उनले भने । उनले बजेट कटौती तथा रकमान्तर गरिएको कार्यको भर्त्सना गर्दै त्यसबाट भएको क्षतिपूर्ति हुने गरी दलित समुदायका लागि बजेट व्यवस्था गर्न सरकारसँग माग गरे ।