मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत भदौ महिनाका लागि कार्यालयका उत्कृष्ट कर्मचारीका रूपमा नायब सुब्बा दीपककुमार पौडेललाई सम्मान गरेको छ । पौडेललाई प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सम्मान गरेका हुन् । प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार कर्मचारीले सबैलाई खुसी पार्न नसके पनि आफ्नो काममा भने इमानदार हुनुपर्छ । यही मान्यताअनुसार जिल्ला प्रशासन कार्यालय मकवानपुरले कर्मचारीलाई कामप्रति थप जिम्मेवार, उत्साहित र प्रतिस्पर्धी बनाउन ‘उत्कृष्ट कर्मचारी’ छनोट गर्ने प्रणाली सुरु गरेको हो । उत्कृष्ट कर्मचारी छनोटसँगै उनीहरूको तस्बिर कार्यालयमा राख्ने व्यवस्था समेत रहेको छ । यसले कर्मचारीमा आफ्नो जिम्मेवारीप्रति थप उत्साह पैदा गर्नुका साथै राम्रो काम गर्ने प्रतिस्पर्धाको वातावरण सिर्जना भएको कार्यालयले जनाएको छ । गत साउनमा प्रशासकीय अधिकृत सरोजप्रसाद पौडेल, गत असारमा कार्यालय सहयोगी विनोद काफ्ले र गत जेठमा नायब सुब्बा सीमा पौडेल उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित भएका थिए ।