प्रकृतिले पाठेघर भएका र पाठेघर नभएका दुई थरी मानव पृथ्वीलाई दिएको छ । हामी सबैलाई थाहा छ, पाठेघर भएकाको शरीरबाट प्रत्येक महिना लगभग २८ दिनको चक्रमा रगत बग्ने गर्दछ । महिनावारी पाठेघर भएका व्यक्तिको प्रजनन स्वास्थ्यसँग सम्बन्धित स्वाभाविक जैविक प्रक्रिया हो । प्रजनन उमेरमा हर्मोनको चक्रका कारण गर्भाशयको भित्री तह झर्ने र रक्तस्राव हुने प्रक्रियालाई महिनावारी भनिन्छ । महिनावारी हुनु भनेको पाठेघर भएका व्यक्ति गलत हुनु होइन । बरु मानव प्रजातिको पुस्ता निरन्तरतासँग सम्बन्धित जैविक प्रक्रियाको एउटा सामान्य हिस्सा हो । यसमा पाप, धार्मिक दोष, नैतिक कमजोरी र अशुद्धताको कुनै वैज्ञानिक आधार छैन । तर पनि हाम्रो समाजमा महिनावारी विभेद भने अझै जरा गाडेर बसेको छ । महिनावारी भएका व्यक्तिलाई भान्सामा जान नदिने, पूजा गर्न नदिने, मन्दिरमा प्रवेश गर्न नदिने, करेसाबारी छुन नदिने, पानीको स्रोत छुन नदिने, अरू मानिसभन्दा अलग राख्ने वा आफूलाई नै अशुद्ध ठान्न बाध्य बनाउने अभ्यास यसका उदाहरण हुन्। यस्ता अभ्यासलाई संस्कार र परम्पराको रूपमा प्रस्तुत गर्नु गलत हो । तर गलत हुँदा हुँदै पनि यस्ता अभ्यास आज पनि हाम्रो समाजबाट हट्न सकेको छैन । नेपालको कानुनले समेत धार्मिक वा सांस्कृतिक परम्पराका नाममा महिलामाथि हिंसा वा शोषण स्वीकार गर्दैन । संविधानको धारा १८ ले समानताको अधिकार सुनिश्चित गर्छ र लिङ्ग लगायतका आधारमा भेदभाव निषेध गर्छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले महिनावारी सेवासमेत समेटिएका प्रजनन स्वास्थ्य सेवामा धर्म, लिङ्ग, स्वास्थ्य अवस्था लगायतका आधारमा भेदभाव गर्न नपाइने व्यवस्था गरेको छ । नेपालको संविधानको धारा ३८ ले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अधिकार दिएको छ । राष्ट्रिय सभाले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव’ २०८१ साल चैत ९ गते (२२ मार्च २०२५) सर्वसम्मतिले पारित गरेको छ । तर कानुनले मात्र समाज बदल्दैन । कानुनले व्यवहार नियन्त्रण गर्न सक्छ । तर सोच र सामाजिक धारणा परिवर्तन गर्न निरन्तर चेतना र व्यवहारगत रूपान्तरण आवश्यक हुन्छ । घरमा छोरीलाई महिनावारीका कारण अलग राखियो भने कानुनको किताब मात्र देखाएर महिनावारी विभेद हट्दैन । त्यसैले आजको बहस मानवअधिकार, लैङ्गिक समानता, स्वास्थ्य, गरिमा र वैज्ञानिक चेतनाको बहस पनि हो । महिनावारीका प्रारम्भिक दिनलाई महिलाको जैविक अवस्थाका रूपमा मात्र होइन, धार्मिक दोष र सामाजिक शुद्धताको भाषामा व्याख्या गरिएको छ । महिलाको शरीरमा हुने प्राकृतिक रक्तस्रावलाई किन धार्मिक अपराधसँग जोडियो