ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा मात्र सीमित नगरी विपद् तथा सङ्कटका समयमा समेत उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । आइसिटी फाउन्डेसन नेपालद्वारा आज यहाँ आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ’मा उनले नागरिकलाई निरन्तर सेवा, सूचना र सञ्चार उपलब्ध गराउन सक्नेगरी दिगो एवं उत्थानशील डिजिटल प्रणालीको निर्माणमा सरकारले जोड दिएको बताए । भोटेकोशी बाढीबाट समुदाय र भौतिक पूर्वाधारमा पुर्याएको क्षतिसँगै नेपालको सूचना प्रणाली, सञ्चार सञ्जाल, संस्थागत समन्वय र राष्ट्रिय तयारीको परीक्षण भएको विचार व्यक्त गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले पछिल्ला वर्षहरूमा डिजिटल रूपान्तरणलाई मुख्यतः सुविधा, दक्षता र आधुनिकीकरणसँग जोडेर हेर्ने गरिएको बताए । उनले भने, “हालैको विपद् अनुभवले डिजिटल प्रणालीको निरन्तरता, विश्वसनीयता र सङ्कट प्रतिकार्य क्षमतालाई समान प्राथमिकता दिनुपर्ने आवश्यकता देखाएको छ ।” भोटेकोशीबाट जनधनको अकल्पनीय क्षति भएको सुनाउँदै सञ्चारमन्त्री तिमिल्सिनाले विपद् व्यवस्थापनमा सरकार उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणलगायत कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताए । विपद्को अुनभवले भौतिक पूर्वाधारको संरक्षणसँगै सूचना तथा सञ्चार प्रणालीको सुदृढीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने देखाएको उनको भनाइ थियो । उनले सङ्कटका समयमा सूचना पूर्वाधारजत्तिकै महत्वपूर्ण हुने, सञ्चार यातायातजत्तिकै आवश्यक पर्ने, विश्वसनीय तथ्याङ्क निर्णय प्रक्रियाको आधार बन्ने र सार्वजनिक विश्वास प्रविधिको प्रभावकारितासँग प्रत्यक्ष रूपमा जोडिने बताए । “भोटेकोशी बाढीले हाम्रो भौतिक पूर्वाधारको मात्र परीक्षण गरेन । यसले हाम्रा सूचना प्रणाली, सञ्चार सञ्जाल, संस्थाहरूबीचको समन्वय र तीव्र रूपमा परिवर्तन भइरहेको विश्वका लागि हाम्रो सामूहिक तयारीको समेत परीक्षण गर्यो”, सञ्चारमन्त्री तिमिल्सिनाले भने । डिजिटल रूपान्तरणको आगामी चरणमा सरकारले विपद् प्रतिकार्य, सूचना व्यवस्थापन र नागरिकको सार्वजनिक सेवामा पहुँचलाई एकीकृत रूपमा अघि बढाउने जानकारी दिँदै उनले नेपालका डिजिटल प्रणालीले सामान्य दिनमा मात्र नभई सबैभन्दा कठिन परिस्थितिमा पनि नागरिकको आवश्यकता सम्बोधन गर्न सक्ने क्षमता विकास गर्नुपर्ने धारणा व्यक्त गरे । सरकारले सङ्कटकालीन सूचना सम्प्रेषण, संस्थागत समन्वय, अत्यावश्यक सेवामा पहुँच र गलत सूचनाको पहिचानजस्ता विषयलाई डिजिटल शासनका आधारभूत पक्षका रूपमा विकास गर्नेगरी काम गरिरहेको सञ्चारमन्त्री तिमिल्सिनाले बताए । “नेपाललाई डिजिटल रूपान्तरण मात्र होइन, दिगो र उत्थानशील डिजिटल रूपान्तरण आवश्यक छ । अबको प्रश्न हाम्रा डिजिटल प्रणालीले नागरिकलाई सबैभन्दा बढी आवश्यक परेको समयमा निरन्तर सेवा दिन सक्छन् कि सक्दैनन् भन्ने हो”, उनले भने, “के सरकारले सङ्कटका समयमा प्रभावकारी रूपमा सञ्चार गर्न सक्छ