अब लाइसेन्सका लागि लाइन होइन, प्रणालीमा आवेदनदेखि कार्ड घरसम्मै पुर्‍याइने

  • आइबार​ ४ असो २०८३ १०:०३ AM
काठमाडौँ । सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स लिन सेवाग्राहीले कार्यालय धाउने, फाराम भर्ने, कागजपत्र बोकेर लाइन बस्ने र आफ्नो आवेदन कहाँ पुग्यो भनेर कार्यालयमै पुगेर बुझ्नुपर्ने अवस्थालाई क्रमशः अन्त्य गर्ने गरी यातायात व्यवस्था विभागले नयाँ व्यवस्था लागू गरेको छ । यातायात व्यवस्था विभागले ‘विद्युतीय माध्यमबाट सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा प्रवाह गर्ने निर्देशिका, २०८३’ जारी गर्दै सवारी चालक अनुमतिपत्रसम्बन्धी अधिकांश प्रक्रियालाई विद्युतीय प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था गरेको हो । नयाँ निर्देशिकाले नयाँ लाइसेन्सको आवेदनदेखि वर्ग थप, नवीकरण, प्रतिलिपि, पुनः प्रयोगात्मक परीक्षा, व्यक्तिगत विवरण सच्याउने, लाइसेन्सको विवरण हेर्ने तथा आवेदनको अवस्था थाहा पाउनेसम्मका सेवाका लागि विद्युतीय प्रणालीलाई मुख्य आधार बनाएको विभागका महानिर्देशक राजीव पोखरेलले समता प्रेसलाई जानकारी दिए । निर्देशिकाअनुसार सेवाग्राहीले आफूले सेवा लिन चाहेको विभाग वा प्रदेशको तोकिएको पोर्टलमा प्रवेश गरी आवश्यक सेवा छनोट गर्नुपर्नेछ । प्रणाली प्रयोग गर्दा आफ्नो नाममा दर्ता भएको र हाल सक्रिय रहेको मोबाइल नम्बर प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । यसले लाइसेन्सका लागि सेवाग्राही र कार्यालयबिच हुने सम्पर्कलाई कागजी प्रक्रियाबाट विद्युतीय प्रणालीतर्फ लैजाने प्रयास गरेको महानिर्देशक पोखरेलको भनाई छ । घरबाटै आवेदन, प्रणालीबाटै प्रक्रिया नयाँ चालक अनुमति पत्र लिन चाहने सेवाग्राहीले अब प्रणालीमा प्रवेश गरी नयाँ सवारी चालक अनुमति पत्रको आवेदन विकल्प छनोट गर्नुपर्नेछ । नागरिक एप वा राष्ट्रिय परिचयपत्रको प्रयोग गरी व्यक्तिगत विवरण प्रमाणीकरण गर्न सकिने व्यवस्था निर्देशिकाले गरेको छ । प्रमाणीकरण सफल भएपछि प्रणालीमा उपलब्ध आधिकारिक विवरण आवेदन फाराममा स्वतः प्रविष्ट हुनेछ । त्यसपछि प्रणालीले माग गरेका अन्य आवश्यक विवरण सेवाग्राहीले भर्नुपर्नेछ । सेवाग्राहीले आफूले लिन चाहेको सवारी चालक अनुमति पत्रको वर्ग छनोट गरेपछि प्रणालीमा उपलब्ध मान्यता प्राप्त चिकित्सकको सूचीबाट आफूलाई पायक पर्ने चिकित्सक छनोट गरी स्वास्थ्य परीक्षण गराउन सक्नेछन् । चिकित्सकले स्वास्थ्य परीक्षणको नतिजा प्रणालीमै प्रविष्ट गर्नुपर्नेछ । स्वास्थ्य परीक्षण सफल भएपछि सेवाग्राहीले आफूले आवेदन दिन चाहेको यातायात व्यवस्था कार्यालय छनोट गरी आवेदन पेस गर्नुपर्नेछ । त्यसपछि सम्बन्धित कार्यालयका अधिकारप्राप्त कर्मचारीले आवेदन तथा प्रणालीमा उपलब्ध विवरण जाँच गरी आवेदन स्वीकृत वा अस्वीकृत गर्न सक्नेछन् । आवेदन ४८ घण्टाभित्र स्वीकृत वा अस्वीकृत नयाँ निर्देशिकाको महत्त्वपूर्ण व्यवस्था कार्यालयमा अनलाइनबाट पुगेका आवेदनमाथि हुने निर्णयको समय सीमा पनि हो । नयाँ आवेदन, वर्ग थप, प्रतिलिपि र नवीकरणका लागि अनलाइनबाट आएका निवेदन कार्यालयले सामान्यतया ४८ घण्टाभित्र स्वीकृत गर्नुपर्नेछ । आवेदन अस्वीकृत गर्नुपर्ने भए कारणसहित आवेदकलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । यसले आवेदन दिएपछि लामो समयसम्म कार्यालयबाट कुनै जानकारी नआउने वा आवेदन कुन चरणमा छ भन्ने थाहा नहुने अवस्थालाई कम गर्ने अपेक्षा गरिएको छ । कार्यालयले आवेदन अस्वीकृत गरेमा वा थप विवरण आवश्यक परेमा त्यसको जानकारीसमेत प्रणालीमार्फत उपलब्ध गराउनुपर्नेछ । परीक्षा मिति सेवाग्राही आफैँले रोज्न पाउने आवेदन स्वीकृत भएपछि सेवाग्राहीले प्रणालीमा उपलब्ध विद्युतीय भुक्तानीको माध्यम प्रयोग गरी तोकिएको आवेदन शुल्क तिर्नुपर्नेछ । शुल्क भुक्तानी भएपछि प्रणालीमा उपलब्ध लिखित परीक्षाका मितिमध्ये आफूलाई सहज हुने मिति सेवाग्राही आफैँले छनोट गर्न सक्नेछन् । छनोट गरेको मिति र स्थानमा उपस्थित भएर लिखित परीक्षा दिनुपर्नेछ । लिखित परीक्षा उत्तीर्ण भएपछि प्रयोगात्मक परीक्षाका लागि छुट्टै शुल्क लाग्ने भएमा त्यो शुल्कसमेत विद्युतीय माध्यमबाट भुक्तानी गरी उपलब्ध मितिमध्ये आफूलाई सहज हुने प्रयोगात्मक परीक्षाको मिति छनोट गर्न सकिनेछ । यसरी हेर्दा अब परीक्षा मिति र प्रक्रियाका केही चरणमा सेवाग्राहीले कार्यालयको निर्णय पर्खिरहनुपर्ने अवस्थाको सट्टा प्रणालीमा उपलब्ध विकल्पमध्ये आफूलाई सहज हुने समय छनोट गर्न सक्ने व्यवस्था गरिएको छ । लिखित परीक्षा दिन नपर्ने वर्गका आवेदकका लागि भने प्रणालीले सोझै प्रयोगात्मक परीक्षासम्बन्धी प्रक्रिया उपलब्ध गराउनेछ । प्रयोगात्मक परीक्षा उत्तीर्ण भएपछि सम्बन्धित प्रदेशको कानुनले तोके बमोजिमको शुल्क भुक्तानी गर्नुपर्नेछ । सम्पूर्ण प्रक्रिया र शुल्क भुक्तानी पूरा भएपछि प्रणालीबाट सवारी चालक अनुमति पत्र नम्बर जारी हुनेछ र त्यसपछि स्मार्ट कार्ड छपाइका लागि विवरण स्वतः पठाइनेछ । वर्ग थप पनि अनलाइनबाटै पहिले नै सवारी चालक अनुमति पत्र प्राप्त गरिसकेका सेवाग्राहीले अर्को वर्ग थप गर्न पनि प्रणाली प्रयोग गर्नुपर्नेछ । त्यसका लागि ‘वर्ग थप’ को विकल्प छनोट गरी आफूले थप गर्न चाहेको सवारी चालक अनुमति पत्रको वर्ग छनोट गर्नुपर्नेछ । तर निलम्बन भएको, कानुनबमोजिम नवीकरण गर्नुपर्ने अवस्था नरहेको वा अन्य कारणले वर्ग थपका लागि अयोग्य भएको अनुमति पत्रमा प्रणालीले वर्ग थपको आवेदन रोक्न सक्ने व्यवस्था गरिएको छ । वर्ग छनोट गरेपछि स्वास्थ्य परीक्षण, कार्यालय छनोट, आवेदन स्वीकृति, शुल्क भुक्तानी र परीक्षा प्रक्रिया नयाँ लाइसेन्सका लागि तोकिएबमोजिम नै हुनेछ । प्रयोगात्मक परीक्षा उत्तीर्ण भएपछि प्रचलित कानुनले तोके बमोजिमको शुल्क अनलाइनमार्फत भुक्तानी गर्नुपर्नेछ । त्यसपछि थप गरिएको वर्ग सम्बन्धित चालक अनुमति पत्रमा अद्यावधिक हुनेछ । नवीकरणका लागि पनि कार्यालय धाउनुपर्ने झन्झट घट्ने नवीकरण गर्नुपर्ने सेवाग्राहीले प्रणालीमा गएर ‘लाइसेन्स नवीकरण’ विकल्प छनोट गरी सवारी चालक अनुमति पत्र नम्बर तथा प्रणालीले माग गरेका आवश्यक विवरण प्रविष्ट गर्नुपर्नेछ । त्यसपछि प्रणालीमा उपलब्ध मान्यता प्राप्त चिकित्सकको सूचीबाट आफूलाई पायक पर्ने चिकित्सक छनोट गरी स्वास्थ्य परीक्षण गराउन सकिनेछ । चिकित्सकले स्वास्थ्य परीक्षण गरी प्रतिवेदन प्रणालीमा प्रविष्ट गरेपछि सेवाग्राहीले आवेदन सम्बन्धित कार्यालयमा पेस गर्नुपर्नेछ । कार्यालयका अधिकारप्राप्त कर्मचारीले आवेदन, अनुमति पत्र विवरण तथा आवश्यक अभिलेख जाँच गरी आवेदन स्वीकृत गर्नेछन्। आवेदन स्वीकृत भएपछि तोकिएको विद्युतीय माध्यमबाट शुल्क भुक्तानी गरेपछि नवीकरण प्रक्रिया पूरा हुनेछ । लाइसेन्स हराएमा प्रतिलिपिका लागि पनि अनलाइन आवेदन लाइसेन्स हराएको वा ऐनले तोकेको कारणले प्रतिलिपि आवश्यक पर्ने सेवाग्राहीले प्रतिलिपिका लागि पनि प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । प्रणालीले माग गरेका विवरण पेस गरेपछि सम्बन्धित यातायात व्यवस्था कार्यालयले आवेदन जाँच गरी स्वीकृत वा अस्वीकृत गर्नेछ । आवेदन स्वीकृत भएपछि सेवाग्राहीले तोकिएको प्रतिलिपि शुल्क विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्नेछ । सम्पूर्ण प्रक्रिया पूरा भएपछि चालक अनुमति पत्रको प्रतिलिपि जारी हुनेछ । ट्रायलमा फेल भए फेरि आवेदनदेखि सुरुआत गर्नु नपर्ने नयाँ चालक अनुमति पत्र वा वर्ग थपका लागि प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएका आवेदकले पुनः प्रयोगात्मक परीक्षाका लागि पनि प्रणालीमै आवेदन गर्नुपर्नेछ । तोकिएको पुनः प्रयोगात्मक परीक्षा शुल्क वा आवेदन शुल्क विद्युतीय माध्यमबाट भुक्तानी गरेपछि प्रणालीमा उपलब्ध मितिमध्ये आफूलाई सहज हुने मिति छनोट गर्न सकिनेछ । छनोट गरिएको मिति र स्थानमा उपस्थित भई पुनः प्रयोगात्मक परीक्षा दिनुपर्नेछ । उत्तीर्ण भएपछि लागू हुने अन्तिम अनुमति पत्र शुल्क भुक्तानी गरेपछि प्रणालीबाट अनुमति पत्र नम्बर प्राप्त हुनेछ वा वर्ग थपको हकमा सम्बन्धित अनुमति पत्रमा नयाँ वर्ग अद्यावधिक हुनेछ । पुनः प्रयोगात्मक परीक्षाको अवसर सङ्ख्या, समयावधि तथा अन्य योग्यता भने ऐन, नियमावली तथा सम्बन्धित प्रदेशको कानुनबमोजिम हुने व्यवस्था छ । आवेदन कहाँ पुग्यो भनेर मोबाइलबाटै हेर्न सकिने नयाँ व्यवस्थाको अर्को महत्त्वपूर्ण पक्ष आवेदन ट्र्याकिङ हो । सेवाग्राहीले आवेदन पेस गरेदेखि सेवा पूरा नभएसम्म आफ्नो आवेदनको वर्तमान अवस्था विद्युतीय रूपमा हेर्न सक्नेछन् । मोबाइलमा प्राप्त हुने सन्देशमा रहेको लिङ्कमार्फत आवेदनको अवस्था हेर्न सकिनेछ । त्यस्तै प्रणालीको  ‘आवेदन ट्र्याकिङ’ विकल्पमा गई आफ्नो आवेदन परिचय नम्बर प्रविष्ट गरेर आवेदनको वर्तमान अवस्था, पूरा भएका चरण र बाँकी रहेका चरणसमेत हेर्न सकिने व्यवस्था गरिएको छ । यसले ‘फाराम बुझाएपछि मेरो काम कहाँ पुग्यो