पछिल्ला केही महिनायता नेपालका सामाजिक सञ्जालमा तनुजा पाण्डे र रक्षा बमलगायत जेनजी पुस्ताका नेताप्रति ट्रोलिङ र शङ्काको चिन्ताजनक लहर देखिएको छ । उनीहरूको अन्तर्राष्ट्रिय सम्बन्ध, विभिन्न कार्यक्रममा सहभागिता र विदेशी संस्थाहरूसँगको सम्पर्कलाई केही टिप्पणीकारले उनीहरू नेपालविरुद्ध काम गर्ने ‘विदेशी एजेन्ट’ भएको प्रमाणका रूपमा प्रस्तुत गरिरहेका छन् । यो गम्भीर आरोप हो र गम्भीर आरोपका लागि गम्भीर प्रमाण आवश्यक हुन्छ । कुनै सम्मेलनमा सहभागी भएको, छात्रवृत्ति पाएको, तालिममा भाग लिएको, अन्तर्राष्ट्रिय संस्थासँग काम गरेको वा विदेशी दूतावाससँग भेटघाट गरेको आधारमा मात्रै युवा नेपालीलाई ‘विदेशी एजेन्ट’ भन्नुअघि हामी धेरै सावधान हुनुपर्छ भन्ने मेरो धारणा छ । धेरै युवा नेपालीले यस्ता अवसर सद्भावनापूर्वक ग्रहण गर्छन् । नेपाल यस्तो देश हो, जहाँ राज्यले शिक्षा, रोजगारी, व्यावसायिक विकास र अन्तर्राष्ट्रिय अनुभवका पर्याप्त अवसर उपलब्ध गराउन सकेको छैन । कामका लागि साउदी अरब जाने युवा नेपाली स्वतः साउदी एजेन्ट बन्दैन । छात्रवृत्तिमा भारत वा चीनमा अध्ययन गर्ने व्यक्ति भारतीय वा चिनियाँ एजेन्ट बन्दैन । युरोपको कुनै सम्मेलनमा सहभागी हुने नेपाली स्वतः युरोपेली एजेन्ट बन्दैन । ऐतिहासिक रूपमा पनि हजारौँ नेपाली युवा ब्रिटिस र भारतीय सेनामा भर्ती भए, किनकि ती अवसरले नेपालले उपलब्ध गराउन नसकेको रोजगारी र जीविकोपार्जनको अवसर प्रदान गर्थे । उनीहरूको सहभागिताले मात्र उनीहरूलाई ब्रिटिस वा भारतीय एजेन्ट बनाएको थिएन । क