काठमाडौँ । नवगठित नेपाल कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय भेला काठमाडौँमा सम्पन्न भएको छ । भेलाले माओवादी जनयुद्धका क्रममा गोर्खा जेल ब्रेकको नेतृत्व गरेकी उमा भुजेल ‘शिलु’लाई महासचिव चयन गरेको हो । भेलाले १०५ सदस्यीय केन्द्रीय समितिसमेत चयन गरेको छ । केन्द्रीय समितिमा यसअघि विप्लवका स्वकीय सचिवसमेत रहेका तत्कालीन केन्द्रीय सदस्य चन्द्र खड्का ‘असल’, काजी गुरुङलगायत रहेका छन् । केही समयअघि कम्युनिस्ट तथा वामपन्थी शक्तिबिच एकता र पुनर्गठनको आवश्यकता औँल्याउँदै आएकी भुजेलसहितको टोलीलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले पार्टी नेतृत्वको आलोचना गर्ने तथा फरक मत राख्ने शिलुसहित विभिन्न नेता-कार्यकर्तालाई जिम्मेवारीविहीन बनाएको थियो । त्यसपछि भुजेलको नेतृत्वमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीलाई पुनर्गठन गर्दै नयाँ पार्टी घोषणा गरिएको हो । विप्लव नेतृत्वको तत्कालीन नेकपाले आफ्नो नाम परिवर्तन गरी नेकपा (माओवादी) राखेको थियो । अहिले पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको महासचिवको जिम्मेवारी पाएकी शिलु यसअघि विप्लव नेतृत्वको नेकपा (माओवादी)को पाँच सदस्यीय सचिवालय सदस्य थिइन् । उनी पहिलो संविधानसभाकी सदस्यसमेत हुन् ।