वामपन्थी शक्तिले नेतृत्व गर्न नसके संविधानको मर्मअनुसार कार्यान्वयन हुन सक्दैन: नेकपा नेता श्रेष्ठ

  • शनिबार ३ असो २०८३ ०६:४६ PM
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले वामपन्थी शक्तिले नेतृत्व गर्न नसके नेपालको संविधानको मर्म र भावअनुसार संविधान कार्यान्वयन हुन नसक्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता श्रेष्ठले नेपालको ऐतिहासिक परिवर्तनको मुख्य सारतत्व समाजवाद उन्मुख समावेशी लोकतन्त्र भएको उल्लेख गरेका छन् । त्यसको राजनीतिक प्रणाली सङ्घीय लोकतान्त्रिक गणतन्त्र रहेको उनको भनाइ छ । श्रेष्ठले कम्युनिस्ट तथा वामपन्थी शक्तिको नेतृत्व पङ्क्तिले वर्तमान परिवर्तनलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा मात्र व्याख्या गर्ने गरेको र प्रतिगमनको खतराबारे चर्चा गर्दा पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षामा मात्र सीमित हुने गरेको बताएका छन् । ‘यो चिन्ताको विषय हो । किनकि यो लोकतन्त्र संविधानमा संस्थागत गरिएको सारतत्वको कोणबाट समाजवाद उन्मुख समावेशी लोकतन्त्र हो,’ उनले भनेका छन् । वामपन्थीको नेतृत्वमा भएको परिवर्तन र संविधान घोषणाका कारण वर्तमान अवस्था बनेको उल्लेख गर्दै श्रेष्ठले संविधानले निर्देश गरेअनुसार समाजवाद उन्मुख राज्य तथा समाजवाद उन्मुख अर्थतन्त्रलाई वास्तविक अर्थमा कार्यान्वयनमा लैजान वामपन्थीको नेतृत्व आवश्यक रहेको बताएका छन् । संविधान जारी भएपछि जनताले सङ्घीय, प्रदेश र स्थानीय तहमा वामपन्थी शक्तिलाई करिब दुई तिहाइ बहुमतको जनादेश दिएको उल्लेख गर्दै उनले वामपन्थी शक्तिले गम्भीर गल्ती गरेर आफ्नो जिम्मेवारी पूरा गर्नबाट च्युत भएको बताएका छन् । ‘वामपन्थी शक्तिले नेतृत्व गर्न सकेनन् भने यो संविधानको मर्म र भावअनुरूप संविधान कार्यान्वयन हुन सक्दैन र त्यस अवस्थामा यो परिवर्तन परम्परागत संसदीय गणतन्त्रमा खस्कनेछ,’ श्रेष्ठले भनेका छन्, ‘अहिलेको अवस्थामा त त्यसमा पनि प्रतिगमनको खतरा देखा पर्दै गइरहेको छ ।’ श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको रक्षालाई सबैभन्दा माथि राखेर त्यसका लागि एकताबद्ध हुन आह्वान गरेका छन् । लोकतान्त्रिक उपलब्धिको सारतत्वको रक्षा गर्दै राष्ट्रिय स्वाधीनतालाई बल पुग्ने गरी सुधार, परिमार्जन र संशोधन गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले सबै देशभक्त शक्तिलाई एक भएर सहकार्य गर्न, लोकतन्त्रवादी शक्तिसँग कार्यगत एकता र सहकार्य गर्न तथा लोकतान्त्रिक उपलब्धिको रक्षा र समसामयिक परिमार्जन गर्दै अघि बढ्न आग्रह गरेका छन् । सम्पूर्ण वामपन्थी शक्तिलाई आपसमा सहकार्य र मोर्चाबद्ध हुन आग्रह गर्दै श्रेष्ठले देश र जनताका तात्कालिक मुद्दालाई सम्बोधन गर्न सम्बन्धित सबैसँग कार्यगत एकता, सहकार्य र मोर्चा गर्दै विभिन्न प्रक्रियामार्फत सङ्घर्षको नेतृत्व गर्नुपर्ने बताएका छन् । तर कम्युनिस्ट तथा वामपन्थी शक्तिका लागि यी कार्यभार पूरा गर्न पहिलो सर्त आफ्नै निर्मम आत्म समीक्षा, रूपान्तरण र पुनर्गठन भएको श्रेष्ठको भनाइ छ । ‘अन्यथा वैचारिक–सांस्कृतिक स्खलन र पुँजीवादी भ्रष्टीकरणको तीव्र निरन्तरताले हामीले आजको राष्ट्रिय कार्यभार पूरा गर्न असक्षम हुने मात्र होइन, हामीले आफूलाई नै बचाउन सक्नेछैनौँ,’ उनले भनेका छन् । श्रेष्ठले संविधान दिवसका अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै ऐतिहासिक परिवर्तनका लागि जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धा सुमन, बेपत्ता योद्धाप्रति सम्मान तथा घाइते योद्धाप्रति आभार व्यक्त गरेका छन् । उनले अग्रज नेतृत्वप्रति धन्यवाद व्यक्त गर्दै सङ्घर्षशील नेपाली जनताप्रति अभिनन्दनसमेत गरेका छन् । उनले संविधान दिवसलाई परिवर्तनको मर्म, भाव र सारतत्व ग्रहण गर्ने, संविधान कार्यान्वयन तथा प्राप्त उपलब्धिको परिणाम समीक्षा गर्ने र सीमा तथा गल्ती–कमजोरी सुधार एवं परिमार्जन गर्दै अघि बढ्ने सङ्कल्प दिवसका रूपमा मनाउनुपर्ने बताएका छन् ।