संविधानको मूल भावनाअनुरूप अघि बढ्न प्रदेश प्रमुखको आग्रह

  • शनिबार ३ असो २०८३ ०६:५९ PM
धनुषा । मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै यसको मूल भावना र मर्मअनुरूप अघि बढ्न सबैमा आग्रह गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कर्णले संविधानका मूल मर्म र भावनालाई आत्मसात् गर्दै सुशासन, राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ गर्नु सबैको साझा दायित्व भएको बताए । उनले नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त नेपालको संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्र, विधिको शासन, मौलिक हक, सामाजिक न्याय, समानता र समावेशिताको आधारस्तम्भका रूपमा रहेको उल्लेख गरे । प्रदेश प्रमुख कर्णले संविधानले सुनिश्चित गरेका अधिकार र व्यवस्थाको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । संविधान दिवसले संविधानप्रतिको निष्ठा र प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै न्यायपूर्ण, समावेशी, सुशासित तथा समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय सङ्कल्पलाई सार्थक बनाउन प्रेरणा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे । प्रदेश प्रमुख कर्णले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।