काभ्रे । धुलिखेल नगरपालिका-२ ठाडोखोला मूलमा पहिलोपटक रसायन प्रयोग नगरी पानी शुद्धीकरण गर्ने आधुनिक प्रविधिसहित निर्माण गरिएको खानेपानी प्रशोधन केन्द्र शुक्रबार धुलिखेल नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)को प्राविधिक सहयोग तथा चीनको बेइजिङस्थित चिनियाँ विज्ञान प्रतिष्ठानको सहयोगमा धुलिखेल नगरपालिका र नास्टको सहकार्य तथा समन्वयमा केन्द्र निर्माण गरिएको हो । करिब रु दुई करोड लागतमा निर्माण गरिएको केन्द्रको दैनिक एक लाख ५० हजार लिटरसम्म पानी शुद्धीकरण गर्न सक्ने क्षमता रहेको धुलिखेल-२ का वडाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताए । यसबाट करिब एक हजार २०० लाभग्राही लाभान्वित हुने अपेक्षा गरिएको भन्दै उनले ११४ परिवारमा ‘एक घर एक धारा’ अवधारणाअनुसार खानेपानी पुर्याउने व्यवस्था गरिएको उल्लेख गरे । नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत टिष्टा प्रसाईं जोशीका अनुसार नेपालमा पहिलोपटक यस प्रकारको प्रविधि भित्र्याइएको हो । सन् २०२३ मा सुरु गरिएको परियोजना सन् २०२६ मा सम्पन्न भएको उनले जानकारी दिइन् । “रसायन प्रयोग नगरी पानी शुद्धीकरण गर्ने भएकाले यो प्रविधि ग्रामीण तथा पर्याप्त प्रशोधन सुविधा नपुगेका क्षेत्रमा उपयोगी हुन सक्छ”, उनले भने । प्रशोधन केन्द्रमा पानीमा रहेका जीवाणु तथा अन्य सुक्ष्म कीटाणु निष्क्रिय गर्नुका साथै धमिलोपन हटाउन सहयोग गर्ने प्रविधि जडान गरिएको छ । शुद्धीकरण प्रक्रियामा इलेक्ट्रोड (विद्युतीय प्रविधि), म्याग्नेटिकस्यान्ड (चुम्बकीय प्रविधि) र अल्ट्राभायोलेट युभीलाइट (प्रकाशको किरणका माध्यमबाट कीटाणु र भाइरस मार्ने प्रविधि) प्रयोग हुने जोशीले जानकारी दिइन् । चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको पारिस्थितिकी-वातावरण विज्ञान अनुसन्धान केन्द्र (कास), बेइजिङको अनुदान तथा प्राविधिक सहयोगमा आवश्यक उपकरणसहित आवश्यक प्रविधि जडान गरिएको हो । परियोजना कार्यान्वयनमा नास्टले प्राविधिक समन्वय तथा सहजीकरण गरेको जोशीले जानकारी दिइन् । करिब तीन वर्षमा निर्माण सम्पन्न भएको केन्द्र हस्तान्तरणपछि यसको सञ्चालन, रेखदेख तथा मर्मतसम्भारको जिम्मेवारी धुलिखेल नगरपालिकाले लिनेछ । नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जगमले प्रशोधन केन्द्र सञ्चालनमा आएपछि स्थानीयवासीलाई सुरक्षित खानेपानी उपलब्ध गराउन सहज हुने बताए । “स्थानीय मुहानको पानी प्रशोधन गरी एक घर एक धारा मार्फत घरघरमा खानेपानी पुर्याउने उद्देश्यले आयोजना अघि बढाइएको हो”, उनले भने ।