संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ : मुख्यमन्त्री शाही

  • शनिबार ३ असो २०८३ ०३:४२ PM
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले संविधानतको मर्मअनुसार सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका छन् ।  संविधान तथा राष्ट्रिय एकता दिवस, २०८३ को पावन अवसरमा कर्णाली तथा स्वदेश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले राजनीति अधिकार प्राप्त भइसकेकाले अब लक्ष्य सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्नु मुख्य जिम्मेवारी भएको बताएका हुन् ।  उनले भने, “संविधानको मर्म र भावनालाई पूर्ण रूपमा व्यवहारमा रूपान्तरण गर्न सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज र आम प्रदेशवासीमा गोलबन्द भएर अगाडि बढ्नुपर्छ । ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को प्रादेशिक सङ्कल्प पूरा गर्न कर्णाली प्रदेश सरकार निरन्तर क्रियाशील छ ।” साधनस्रोतको समुचित प्रयोग, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारका अवसर सिर्जना गर्दै संविधानले सुनिश्चित गरेका मौलिक अधिकारहरू नागरिकको घरदैलोसम्म पुर्‍याउन प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहीले बताएका छन् ।  त्यसको साथै यस ऐतिहासिक दिनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका साथै कर्णाली प्रदेश प्राप्तिका लागि भएको ऐतिहासिक आन्दोलन, जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन र विभिन्न न्यायपूर्ण आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवनोत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइते, बेपत्ता नागरिक तथा लोकतान्त्रिक एवं प्रदेश प्राप्तिको आन्दोलनको नेतृत्व गर्नुहुने अग्रजहरूप्रति उच्च सम्मान एवं श्रद्धा व्यक्त गर्दछु भनेका छन् । जनतालाई नै राज्यशक्तिको स्रोतका रूपमा स्थापित गर्दै सार्वभौमसत्ता र सम्प्रभूता जनतामा निहित गराएको यो संविधानले कर्णालीजस्तो भौगोलिक रूपमा विकट तर सम्भावनाले भरिपूर्ण क्षेत्रलाई अधिकारसम्पन्न बनाएको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले संविधान ल्याउन आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै यसको संरक्षण, प्रवर्द्धन र सफल कार्यान्वयनमा जोड दिन सबै सरोकारवालामा आग्रह गएका छन् ।