कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

  • शनिबार ३ असो २०८३ ०१:०९ PM
कर्णाली । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन आग्रह गर्दै यस क्षेत्रको विकासबिना मुलुकको पूर्ण विकास सम्भव नहुने बताएका छन् । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको ११औँ संविधान तथा राष्ट्रिय एकता दिवस समारोहमा उनले  नेपाली जनतालाई संविधानले अधिकारसम्पन्न बनाएको बताउँदै संविधानले सङ्घीयता, समावेशिता, सामाजिक न्याय र समानुपातिकतालाई केन्द्रमा राखेको सुनाए ।  प्रदेश प्रमुख जोशीले संविधानको अक्षरशः पालना र प्रभावकारी कार्यान्वयनका लागि राज्यका सबै अङ्गको सक्रियता आवश्यक छ भने ।  मुख्यमन्त्री मङ्गलबहादुर शाहीले नेपाली जनताको त्याग, समर्पण र बलिदानबाट जारी भएको संविधानले नागरिकका सम्पूर्ण अधिकार सुनिश्चित गरेको बताए । संविधानको संस्थागत विकासका लागि सबैको हातेमालो आवश्यक रहेको उल्लेख गर्दै उाले नागरिकलाई राज्यको अनुभूति गराउन तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व अपरिहार्य रहेको बताए । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नेपालको संविधानले सबै जाति, वर्ग, धर्म, लिङ्ग र भाषाका नागरिकलाई समेटेको बताए । संविधानले नागरिकका अधिकार सुनिश्चित गर्नुका साथै कर्तव्यप्रति पनि सचेत गराएको उनले उल्लेख गरे ।