अर्घाखाँची । राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित विशेष समारोहमा अर्घाखाँचीका उत्कृष्ट विद्यालय, विद्यार्थी, शिक्षक तथा अभिभावकलाई सम्मान गरिएको छ । कार्यक्रममा जिल्लामा उत्कृष्ट नतिजा ल्याउन सफल आठ वटा विद्यालयलाई सम्मान गरिएको हो । सम्मानित हुने विद्यालयमा हिमालय इङ्लिस बोर्डिङ स्कुल छत्रदेव–४, बल्कोट, मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुल, सन्धिखर्क, अर्घाखाँची आवासीय माध्यमिक विद्यालय, बेल वाटिका, पाणिनि वेद विद्याश्रम माध्यमिक विद्यालय, चुत्रावेशी, सरस्वती माध्यमिक विद्यालय पाणिनि–१, आम डाँडा, सरस्वती भवन राष्ट्रिय माध्यमिक विद्यालय पाणिनि–३, खिदिम, भानु माध्यमिक विद्यालय पाणिनि–५, मैदान र सहिद मेमोरियल इङ्लिस बोर्डिङ स्कुल छत्रदेव–४, बल्कोट रहेका छन्। त्यस्तै, एसइई–२०८२ मा उत्कृष्ट ४ जिपिए ल्याउन सफल जिल्लाका सात जना विद्यार्थीलाई पनि सम्मान गरिएको छ । सम्मानित हुने विद्यार्थीमा हिमालय इङ्लिस बोर्डिङ स्कुलका आदर्श पौडेल, ज्ञानप्रकाश माध्यमिक विद्यालयकी ग्रीष्मा खनाल, गौरीशङ्कर इङ्लिस बोर्डिङ स्कुलकी अनिषा खनाल र रिगल भट्टराई, सन्धिखर्क ग्रिन इङ्लिस बोर्डिङ स्कुलकी आषिका बन्जाडे, अर्घाखाँची आवासीय माध्यमिक विद्यालयका विशाल थापा र जनज्योति माध्यमिक विद्यालयकी विदुषी खड्का रहेका छन् । कार्यक्रममा सम्मानित विद्यार्थीका अभिभावक तथा शिक्षकले समेत सम्मान पत्र ग्रहण गरेका थिए ।