संविधानको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ: रास्वपा सभापति रवि लामिछाने

  • शनिबार ३ असो २०८३ १०:१३ AM
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालको संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा शनिवार शुभकामना सन्देश जारी गर्दै लामिछानेले संविधान अक्षरको सँगालो मात्र नभई राज्य र नागरिकबिचको पवित्र करार भएको बताएका हुन् । उनले नेपालको सन्दर्भमा आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन नसकेको उल्लेख गरेका छन् । लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता संविधानले परिकल्पना गरेका मौलिक हक सीमान्तकृत नागरिकको दैनिक यथार्थ बनेपछि मात्र सिद्ध हुने उनको भनाइ छ । लामिछानेले आफ्नो पार्टी रास्वपाले सामाजिक लोकतन्त्रमार्फत नागरिकको मुहारमा खुसी र समाजमा न्याय स्थापित गर्ने अठोट गरेको बताएका छन् । ‘हामीलाई थाहा छ, संविधान एक जीवन्त दस्ताबेज हो । यसका अन्तर्वस्तु राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा परिष्कृत हुन सक्छन्, संशोधन हुन सक्छन् । संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ । तर, अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ,’ उनले भनेका छन् । बेथिति र कमजोरीलाई सच्याएर लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउने गरी विवेकपूर्ण बहस गर्ने उपयुक्त दिन संविधान दिवस भएको पनि लामिछानेले बताएका छन् । ‘बलियो राज्य भनेको बलिया संस्था हुन्,’ उनले भनेका छन्, ‘संविधान दिवसले हामी सबै राजनीतिक शक्ति, राज्यका अङ्ग र आम नागरिकलाई आआफ्नो स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन प्रेरणा प्रदान गरोस् ।’ सभापति लामिछानेले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकमा शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधान निर्माणका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली अर्पण गरेका छन् ।