अर्घाखाँची । ग्रामीण तथा सीमान्तकृत समुदायका नागरिकलाई घरदैलोमै कानुनी सचेतना र निःशुल्क परामर्श प्रदान गर्न सञ्चालन गरिने मोबाइल क्लिनिक घुम्ती शिविर प्रभावकारी भएको छ । हाम्रो साहस परियोजनाको सहयोग तथा दलित चेतना विकास परिषद् अर्घाखाँचीको सहजीकरणमा सञ्चालित कानुनी जागरण तथा परामर्शका लागि मोबाइल क्लिनिक घुम्ती शिविरअन्तर्गत सन्धिखर्क नगरपालिका-२ मा आयोजित कार्यक्रममा शुक्रवार अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले मोबाइल क्लिनिक घुम्ती शिविर प्रभावकारी भएको खुलेर प्रशंसा गरे । उनले नागरिकलाई उनीहरूको मौलिक हक, कर्तव्य र अधिकारबारे जानकारी गराउनुका साथै घरेलु हिंसा, महिला हिंसा तथा समाजमा विद्यमान हानिकारक परम्पराविरुद्ध कानुनी उपचारको बाटो देखाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । अदालत वा कानुनी निकायसम्म पुग्न नसक्ने विपन्न तथा पछाडि पारिएका वर्गका नागरिकलाई प्रत्यक्ष कानुनी सहयोगको मार्ग देखाउन मोबाइल क्लिनिक उपयोगी हुने उनको भनाइ छ । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) दिवस बस्नेतले समाजमा विद्यमान हानिकारक परम्परा, जातीय विभेद, लैङ्गिक विभेद, घरेलु हिंसा, महिला हिंसा, दाइजो प्रथा, बालविवाह, बहुविवाहलगायत सामाजिक विभेदका विषयमा अनुशिक्षण दिएका छन् । उनले यस्ता घटनामा उपलब्ध कानुनी व्यवस्था, कानुनी उपचार तथा कारबाहीका प्रक्रियाबारे समेत जानकारी गराएका थिए । गम्भीर प्रकृतिका घटनामा प्रहरी कानुन कार्यान्वयन गर्ने निकायको पहिलो खुट्किलो भएकाले यस्ता विषयमा आफूहरू संवेदनशील र जिम्मेवारीपूर्वक लाग्ने उनले बताए । त्यस्तै, जिल्ला सहन्यायाधिवक्ता विष्णुहरि मरासिनीले समाजमा रहेका सामाजिक तथा अन्य प्रकारका विभेदका विषयमा अनुशिक्षण दिएका थिए । उनले यस्ता प्रकृतिका घटनालाई कानुन कार्यान्वयन गर्ने निकायले गम्भीरतापूर्वक हेर्ने बताए । धाइचौर बेहोर सामुदायिक वनका अध्यक्ष खिमबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहजकर्ता राधा नेपालीले स्वागत मन्तव्य राखेका थिइन । कार्यक्रमको सहजीकरण पत्रकार अनिल नेपालीले गरेका थिए । कार्यक्रममा महिला अगुवा, समाजसेवी, बुद्धिजीवी तथा नागरिक अगुवालगायतको उल्लेखनीय सहभागिता रहेको थियो । दलित चेतना विकास परिषद्ले लामो समयदेखि अर्घाखाँची जिल्लामा सामाजिक विभेद तथा हानिकारक परम्पराविरुद्ध विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।