भोटेकोसी बाढीपीडितका लागि हिमालय विद्या निकेतनको दुई लाख दुई हजार सहयोग

  • शुक्रबार​ २ असो २०८३ ०६:३८ PM
बाँके । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि बाँकेको बैजनाथ-५, जी गाउँस्थित हिमालय विद्या निकेतन माध्यमिक विद्यालयले दुई लाख दुई हजार दुई सय दुई रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयले विद्यार्थी, शिक्षक तथा कर्मचारी र विद्यालयको तर्फबाट सङ्कलन गरेको उक्त रकम शुक्रवार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न एन-प्याब्सन बाँके मार्फत हस्तान्तरण गरेको हो । विद्यालयका अनुसार सङ्कलित रकममध्ये विद्यार्थीबाट ३३ हजार पाँच सय ४५ रुपैयाँ, शिक्षक तथा कर्मचारीबाट ६१ हजार तीन सय ८३ रुपैयाँ र विद्यालयको तर्फबाट एक लाख सात हजार दुई सय ७४ रुपैयाँ रहेको छ । सङ्कलित कुल रकम विद्यालयको तर्फबाट एन प्याब्सन बाँकेका अध्यक्ष चिरञ्जीवी चन्दलाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ । उक्त रकम सम्बन्धित कोषमा पुर्‍याउन आवश्यक सहजीकरण तथा समन्वय एन-प्याब्सन बाँकेले गर्नेछ। विद्यालयका सञ्चालक श्याम कुँवरले विपद्का समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विद्यालयले विगतका वर्षहरूमा समेत सहयोग गर्दै आएको बताउनुभयो। देशमा भूकम्प, बाढीलगायतका प्राकृतिक विपद् आउँदा विद्यालय परिवारले आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको उनले बताए । हालै रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठुलो सङ्ख्यामा परिवार प्रभावित तथा विस्थापित भएको अवस्थामा मानवीय सहयोग आवश्यक देखिएकाले विद्यालय परिवारले सहयोग सङ्कलन गरी हस्तान्तरण गरेको सञ्चालक कुँवरले बताए । विपद्को यस घडीमा विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय परिवारबाट प्राप्त सहयोगले बाढीपीडित परिवारको राहत तथा पुनर्स्थापनामा केही योगदान पुग्ने विद्यालयले विश्वास व्यक्त गरेको छ । विद्यालयले सहयोग रकम सङ्कलनमा सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गरेको छ । साथै, रकम सम्बन्धित निकायसम्म पुर्‍याउन सहजीकरण तथा समन्वय गरिदिएकोमा एन-प्याब्सन अध्यक्ष चिरञ्जीवी चन्दप्रति विशेष आभार व्यक्त गरेको छ । शिक्षा प्रदान गर्ने संस्थाका रूपमा आफ्नो नियमित शैक्षिक जिम्मेवारीसँगै विपद् तथा सामाजिक समस्याका समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको हिमालय विद्या निकेतनले जनाएको छ ।