काठमाडौँ । नेपाल सरकारको रिक्त विशिष्ट श्रेणी सचिव पदमा सहसचिव रुद्रसिंह तामाङ बढुवा भएका छन् । मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत सहसचिव तामाङलाई सचिवमा बढुवा गरेको हो । लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिको बिहीबार बसेको बैठकले तामाङसहित आभा श्रेष्ठ र चक्रबहादुर बुढाको नाम सचिव बढुवाका लागि सिफारिस गरेको थियो। ज्येष्ठताका आधारमा मन्त्रिपरिषद् बैठकले तामाङलाई सचिवमा बढुवा गरेको हो । हाल राष्ट्रिय सतर्कता केन्द्रमा सचिव पद रिक्त रहेको छ । मन्त्रिपरिषद्ले तामाङलाई राष्ट्रिय सतर्कता केन्द्रमै पदस्थापन गर्ने वा प्रदेश सरकारका कुनै प्रमुख सचिवलाई सरुवा गरेर तामाङलाई प्रदेशको प्रमुख सचिवका रूपमा पदस्थापन गर्ने निर्णय गर्नेछ ।