दसैंतिहार लगत्तै सरकारविरुद्ध सडक आन्दोलन गर्छौं : प्रचण्ड 

  • शुक्रबार​ २ असो २०८३ ०४:१८ PM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसैँतिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रने बताएका छन्।  काठमाडौंमा अखिल नेपाल किसान महासंघ केन्द्रीय समितिको पूर्ण बैठकमा ‘तथाकथित’ नयाँ भनिएको सरकारले सुकुम्वासी तथा अव्यवस्थित नागरिक, मजदुर, किसान, विद्यार्थी र ट्रेड युनियनमाथि दमन गरेको आरोप लगाउँदै उनले सरकारविरुद्ध सडक आन्दोलन गर्ने बताए।  संयोजक प्रचण्डले सरकारका गतिविधि तथा कार्यशैलीविरुद्ध प्रतिपक्ष दलहरूलाई एक ठाउँमा ल्याउने कार्य भइरहेको बताए।  ‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पारेका छौं। सरकारले सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले दमन सुरु गरेको छ, ज्यादती र अत्याचार गरेको छ,’ उनले भने। चाडपर्वपछि देशको परिस्थितिको मूल्यांकन गर्दै सरकारका गतिविधिविरुद्ध आन्दोलनमा उत्रने तयारी भइरहेको उनको भनाई थियो। सरकारका गतिविधि र कार्यशैलीका कारण जनतामा रहेको भ्रम क्रमशः हट्दै गएको पनि उल्लेख गरे। उनले पुनः जनतामा पुराना तथा स्थापित राजनीतिक दल, नेता र उनीहरूको एजेडाप्रति आकर्षण बढ्दै गएको जिकिर गरे । ‘अहिले केही महिनाभित्रै यो नयाँ भनिएका सरकारका क्रियाकलापले जनतामा जुन दिग्भ्रमजस्तो भएको थियो, त्यो अब चिरिँदै छ, जुन भ्रम थियो, त्यो च्यातिँदै छ। नयाँ ढंगले फेरि स्थापित पार्टीहरू, स्थापित नेताहरू र उनीहरूको एजेन्डाप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै छ,’ संयोजक प्रचण्डले भने।  सरकारले नागिरकका पक्षमा काम गर्न नसकेको संयोजक प्रचण्डको आरोप छ।