काठमाडौँ । नेपाल सरकारको रिक्त विशिष्ट श्रेणी सचिव पदमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिको बिहीबार बसेको बैठकले सहसचिव रुद्रसिंह तामाङ, आभा श्रेष्ठ र चक्रबहादुर बुढालाई क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सचिव बढुवाका लागि सिफारिस गरेको हो । तामाङ हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत छन् । श्रेष्ठ मधेस प्रदेशमा प्रदेश सचिवका रूपमा कार्यरत छन् भने बुढा महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन् । अब बढुवा सिफारिस समितिको सिफारिस मन्त्रिपरिषद्मा पेस हुनेछ । मन्त्रिपरिषद्ले सिफारिस भएका तीन जनामध्येबाट एक जनालाई सचिवमा बढुवा गर्नेछ । बरीयताका आधारमा सचिव बढुवा भएमा पहिलो नम्बरमा सिफारिस भएका तामाङ सचिव हुनेछन् । पछिल्लो समय वरीयता नमिचेरै बढुवा हुँदै आएको बताइएको छ । हाल राष्ट्रिय सतर्कता केन्द्रमा सचिवको पद रिक्त छ । यसअघि गत भदौ २६ गते रिक्त सचिव पदका लागि पहिलो नम्बरमा कालीप्रसाद पराजुली, दोस्रो नम्बरमा रुद्रसिंह तामाङ र तेस्रो नम्बरमा आभा श्रेष्ठको नाम सिफारिस भएको थियो । त्यसमध्ये पराजुली सचिवमा बढुवा भई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भइसकेका छन् ।