समाज कल्याण परिषद्को पहिलो बैठक : सम्पत्ति खोजविनदेखि बेरुजु शून्य बनाउनेसम्मका निर्णय

  • बिहीबार १ असो २०८३ ०९:१६ PM
काठमाडौँ । समाज कल्याण परिषद्को आर्थिक वर्ष २०८३-०८४ को पहिलो बैठकले परिषद्को सम्पत्ति व्यवस्थापन, वित्तीय अनुशासन र संस्थागत सुधारका विषयमा विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ ।  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीको अध्यक्षतामा सम्पन्न बैठकले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरेको छ । बैठकले विपद् प्रभावित नागरिकको राहतमा सहयोग पुर्‍याउन ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । त्यसै गरी, परिषद्को नाममा रहेका जग्गा, जमिन तथा अन्य सम्पत्तिको खोजविन गरी प्रतिवेदन पेस गर्न समिति गठन गर्ने निर्णय गरिएको छ । भृकुटीमण्डप र इच्छुमतीस्थित जग्गामा निर्माण भएका संरचनाको अध्ययन गरी प्रतिवेदन पेस गर्न पनि समिति गठन गर्ने निर्णय भएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्थानीय साझेदार छनोट गर्दा अपनाउनुपर्ने प्रक्रियासम्बन्धी कार्यविधि परिमार्जन गर्न समेत समिति गठन गरिएको छ । बैठकले परिषद्को नाममा रहेको बेरुजु शून्यमा झार्न कार्य योजना निर्माण गरी कार्यान्वयन गर्न परिषद् कार्यालयलाई निर्देशन दिएको छ । सम्पत्ति संरक्षण, वित्तीय अनुशासन, पारदर्शिता र संस्थागत सुधारलाई प्राथमिकतामा राख्दै समाज कल्याण परिषद्को कामकारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा बैठकले महत्त्वपूर्ण निर्णय गरेको हो । मन्त्री बादीको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयका सहसचिव एवम् समाज कल्याण परिषद्का सदस्य सचिव चक्रबहादुर बुढा, अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल उपस्थित थिए । उनीहरू सबै सहसचिव समाज कल्याण परिषद्का पदेन सदस्य हुन् ।