धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै बराहक्षेत्र विकास समिति

  • बिहीबार १ असो २०८३ ०५:०७ PM
विराटनगर । बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटक बढाउने तथा तीर्थयात्रीलाई सुविधा दिने उद्देश्यले धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।  सम्पर्क कार्यालयहरूबाट सुनसरी, उदयपुर र धनकुटाका मुख्य धार्मिक तथा पर्यटकीयस्थलहरूको उचित व्यवस्थापन तथा दर्शनार्थीहरूलाई सूचना तथा सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास समितिले लिएको छ । यसैगरी, कोशी प्रदेशका सुनसरी, उदयपुर र धनकुटाका धार्मिक तथा पर्यटकीयस्थलहरूको पहिचान, प्रवर्द्धन, प्रचारप्रसार गर्न तथा पर्यटकको सुविधाका लागि सम्पर्क कार्यालय स्थापनासहित चतरादेखि बराहक्षेत्र मन्दिर परिसरसम्म पुग्ने पूर्वाधार निर्माणमा सहजीकरण गर्ने समितिले स्पष्ट गरेको छ ।   समितिका कार्यकारी निर्देशक अबिजाल बिष्टले भेँडेटार र धरानका अतिरिक्त बराह मन्दिर र रामधुनी मन्दिर परिसरमा पनि सम्पर्क कार्यालय खोली भेटीघाटीलाई व्यवस्थित र पारदर्शिता बनाउने तथा तीर्थयात्रीलाई यथासक्य सुविधा उपलब्ध गराउने पक्षमा रहेको बताए ।   बृहत्तर बराहक्षेत्र विकास समितिले गरेका महत्त्वपूर्ण एवं अनुकरणीय काम र धार्मिक पर्यटकीय क्षेत्रका तस्बिर प्रदर्शन गरी आमसर्वसाधरणलाई जानकारी गराउँदै आएको छ ।  यसैगरी, समितिले विराटनगर एयरपोर्टमा डिजिटल डिस्प्ले जडान गरी कोशी प्रदेशका रामधुनी, श्रीलङ्का टापु, कोशी करिडोर क्षेत्र, बेलकाराजा–बेलकारानी दरबार, मैनाराजा–मैनारानी दरबार, खुवालुङ, कुम्भस्तम्भ, औलियामोठ, छिन्ताङदेखि पाथिभरा मन्दिर, दन्तकाली, बुढासुब्बा र बिष्णपादुका मन्दिरलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारसहित जानकारी गराउँदै आएको छ ।  समितिले धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थानलाई जोडेर ‘सर्किट’ तयार गरी पर्यटन प्रबद्र्धनमा जोड दिन लागेको कार्यकारी निर्देशक बिष्टले जानकारी दिए ।