अर्घाखाँची । कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध नेपालमा भने पुनःफर्किन थालेका छन् । संरक्षणका प्रभावकारी प्रयास, हानिकारक औषधीमाथिको नियन्त्रण, सुरक्षित आहार र बासस्थान संरक्षणका कारण नेपाल लोपोन्मुख गिद्धको सङ्ख्या घट्नेक्रम रोक्दै पुनः वृद्धि गराउन सफल दक्षिण एसियाकै पहिलो देश बनेको छ । सन् १९९० को दशकमा दक्षिण एसियामा गिद्धको सङ्ख्या अस्वाभाविक रूपमा घट्न थालेको थियो । नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशमा ठूलो सङ्ख्यामा गिद्ध मरेका भेटिएपछि यसका कारण खोज्ने क्रममा पशु उपचारमा प्रयोग हुने पीडानाशक औषधि डाइक्लोफेनेक गिद्ध विनाशको प्रमुख कारण भएको पुष्टि भएको थियो । डाइक्लोफेनेक प्रयोग गरिएको गाईबस्तु मरेपछि त्यसको सिनो गिद्धले खाँदा गिद्धको मिर्गौलाले काम गर्न छाड्ने र करिब दुई दिनभित्रै मृत्यु हुने गरेको अनुसन्धानबाट पत्ता लागेको थियो । त्यसबेला प्रजाति र स्थानअनुसार गिद्धको सङ्ख्या हरेक वर्ष २० देखि ५० प्रतिशतसम्म घटेको थियो । दक्षिण एसियामा पाइने नौ प्रजातिका गिद्धमध्ये चार प्रजाति अतिसङ्कटापन्न, एक सङ्कटापन्न र दुई प्रजाति सङ्कटको नजिक पुगेका थिए । गिद्धको सङ्ख्या तीव्र रूपमा घटेपछि नेपाल, भारत र पाकिस्तानले सन् २००६ मा पशु उपचारमा डाइक्लोफेनेक प्रयोगमा प्रतिबन्ध लगाए । बङ्गलादेशले भने सन् २०१० मा प्रतिबन्ध लगाएको थियो । त्यससँगै गिद्धका लागि सुरक्षित आहार उपलब्ध गराउने जटायु रेस्टुरेन्ट, बासस्थान संरक्षण तथा अन्य हानिकारक औषधिको प्रयोग न्यूनीकरणजस्ता कार्यक्रमले गिद्ध संरक्षणमा थप टेवा पुर्याएको हो । हालै प्रकाशित अनुसन्धानमूलक वैज्ञानिक अध्ययनले नेपालमा दुर्लभ डङ्गर गिद्धको सङ्ख्या सन् २०१२–२०१३ पछि निरन्तर बढिरहेको देखाएको गिद्ध विज्ञ कृष्णप्रसाद भुसालको भनाइ छ । अध्ययनअनुसार सन् २०१२ पछि नेपालमा डङ्गर गिद्धको सङ्ख्या औसतमा प्रतिवर्ष १२