काठमाडौँ । नेपालको जिल्ला प्रशासनको इतिहासमा सम्भवतः पहिलो पटक एकै पटक १२ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी महिलाले सम्हालिरहेका छन् । देशका विभिन्न भूगोलमा रहेका यी १२ जिल्लाको प्रशासनिक नेतृत्वमा पाँच जना सहसचिव र सात जना उपसचिव महिला छन् । सहसचिव तहबाट धनकुटामा रुद्रादेवी शर्मा, सिन्धुलीमा स्किम श्रेष्ठ, दोलखामा रेखा कँडेल, रामेछापमा बिनु बज्राचार्य र धादिङमा लक्ष्मी पाण्डेय प्रमुख जिल्ला अधिकारी छन् । त्यस्तै उपसचिव तहबाट बैतडीमा मिना अर्याल, तेह्रथुममा वन्दना राई, रुकुम पूर्वमा कोपिला राई, सल्यानमा वन्दनाकुमारी केसी, डोल्पामा जुनु हमाल, डोटीमा कल्पना घिमिरे र मुस्ताङमा अजिता शर्मा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा छन् । यीमध्ये कतिपय महिला सीडीओका लागि आफ्नो जिल्लामा पहिलो महिला प्रमुख जिल्ला अधिकारी बन्ने अवसरसमेत बनेको छ । कतिपयले यसअघि नै दुर्गमदेखि ‘क’ वर्गका जिल्लासम्मको प्रशासनिक नेतृत्व सम्हालिसकेका छन् भने कतिपयले हालै मात्र सीडीओको जिम्मेवारी पाएका छन् । रुद्रादेवीः कोभिड कालदेखि कास्की हुँदै धनकुटासम्म सहसचिव रुद्रादेवी शर्मा गत असार ४ गतेदेखि धनकुटाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा छन्। धनकुटाअघि उनी कास्कीकी प्रमुख जिल्ला अधिकारी थिइन् । शर्माले यसअघि रामेछाप, गुल्मी, भक्तपुर, काभ्रेपलान्चोक, बर्दिया र कास्कीको जिल्ला प्रशासनको नेतृत्व सम्हालिसकेकी छन्। यीमध्ये भक्तपुर, काभ्रेपलान्चोक र कास्की ‘क’ वर्गका जिल्ला हुन्, जहाँ प्रशासनिक जटिलता र सेवाग्राहीको चाप तुलनात्मक रूपमा बढी हुने गर्छ । २०७६ माघ २४ गते रामेछापको प्रमुख जिल्ला अधिकारी बनेर उनले पहिलो पटक जिल्ला प्रशासनको कमान्ड सम्हालेकी थिइन् । त्यसको करिब एक वर्षपछि गुल्मी सरुवा भएकी शर्मा गुल्मीमा नौ महिना काम गरेपछि २०७८ असोज ४ गते भक्तपुरको प्रमुख जिल्ला अधिकारी बनिन्। उनले भक्तपुरमा १६ महिना नेतृत्व गरिन् । त्यति बेला जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारीसहित पाँच जना उच्च अधिकारी महिला नै थिए । प्रशासनिक क्षेत्रमा महिला नेतृत्वको दृष्टिले त्यसलाई उल्लेखनीय क्षणका रूपमा लिइएको थियो । काभ्रेपलान्चोकमा नौ महिना र त्यसपछि बर्दियामा एक वर्ष काम गरेकी शर्माले जिल्ला प्रशासनका फरक भूगोल, सामाजिक संरचना र सुरक्षासम्बन्धी चुनौतीसँग प्रत्यक्ष काम गर्ने अवसर पाइन् । २०८१ जेठ २१ गतेदेखि बर्दियाको जिम्मेवारी सम्हालेकी उनी त्यसको करिब एक वर्षपछि कास्की पुगेकी थिइन् । शर्माको सीडीओ यात्राको एउटा महत्त्वपूर्ण अध्याय भने कोभिड–१९ महामारीसँग जोडिएको छ । रामेछापको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दा नै नेपालमा कोभिड–१९ प्रवेश गरिसकेको थियो । प्रशासनिक कामकाज असामान्य रहेको, स्रोतसाधन सीमित भएको र जनचेतनाको समेत अभाव रहेको अवस्थामा उनले रोकथाम, नियन्त्रण तथा शान्ति सुरक्षाको नेतृत्व गरेकी थिइन् । अन्य धेरै सीडीओ जिल्ला सदरमुकाममै केन्द्रित भइरहेका बेला शर्मा स्थानीय तहसम्म पुगेर आइसोलेसन सेन्टर र क्वारेनटाइनको अनुगमनमा सक्रिय भएकी थिइन् । निर्णय कागजमा मात्र सीमित नराखी कार्यान्वयनको अवस्थासम्म पुगेर मूल्याङ्कन गर्ने शैली उनको प्रशासनिक कार्यशैलीका रूपमा देखिएको थियो । गुल्मीमा समेत उनले नागरिकता र राहत लिएर नागरिकका घरदैलोसम्म पुगेर सेवा प्रवाह गरेकी थिइन् । विपद्मा ज्यान गुमाएका परिवार तथा प्रशासनिक कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई प्रत्यक्ष भेटेर सेवा दिने उनको अभ्यासले ‘सेवा कार्यालयमा मात्र होइन, नागरिकसम्म पुग्नुपर्छ’ भन्ने मान्यतालाई व्यवहारमा उतारेको थियो । उनको कार्यकालमा ७७ जिल्लाको कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी तेस्रो स्थानमा परेको थियो । सीमित स्रोत र दुर्गम भूगोलका बिच प्रशासनिक समन्वय, सेवा प्रवाह र सुरक्षा व्यवस्थापनमा भएको सुधारलाई यसको एउटा आधार मानिएको थियो । रामेछापमा उनले सहसचिवसरहको पहिलो सीडीओका रूपमा समेत जिम्मेवारी सम्हाल्ने अवसर पाएकी थिइन् । उक्त अनुभवले सङ्घीय संरचनामा जिल्ला प्रशासनको भूमिकाबारे थप अनुभव हासिल गर्ने अवसर दिएको थियो । स्किम श्रेष्ठ: जेनजी आन्दोलनका बेला मकवानपुरको कमान्ड सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ करिब १० महिनादेखि उक्त जिम्मेवारीमा छिन् । उनले गत कात्तिक १७ गतेदेखि सिन्धुलीको प्रशासनिक नेतृत्व सम्हालिरहेकी छन् । सिन्धुलीअघि श्रेष्ठ मकवानपुरकी प्रमुख जिल्ला अधिकारी थिइन् । मकवानपुरमा उनी पहिलो महिला प्रमुख जिल्ला अधिकारीसँगै आफ्नै गृह जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्ने मौका समेत उनले पाएकी थिइन । त्यहाँ उनले करिब आठ महिना बिताएकी थिइन । जेनजी आन्दोलनका बेला उनी मकवानपुरको प्रशासनिक कमान्डमा थिइन् । त्यस अघि उनी गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतमा बसेर काम गरेकी थिइन । लक्ष्मी पाण्डेय: भोटेकोसी बाढीपछिको उद्धारदेखि प्रशासनिक नेतृत्वसम्म धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले गत जेठ २५ गतेदेखि जिम्मेवारी सम्हालिरहेकी छन् । सीडीओ बन्नुअघि उनी राष्ट्रिय किताबखानामा उप-महानिर्देशकको जिम्मेवारीमा थिइन् । गत भदौ १० गते भोटेकोसी बाढीपछि उद्धार, राहत तथा पुनः स्थापनाको कामदेखि सुरक्षा निकायसँगको समन्वय र प्रशासनिक नेतृत्वसम्म उनले सुरुदेखि नै भूमिका निर्वाह गरिरहेकी छन् । रेखा कँडेल: दोलखामा सोमबारदेखि जिम्मेवारी सहसचिव रेखा कँडेलले दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सोमबारदेखि सम्हालेकी छन् । दोलखाअघि उनी खोटाङकी प्रमुख जिल्ला अधिकारी थिइन् । त्यस अघि उनी राष्ट्रिय महिला आयोगको सचिव, मुद्रण विभागको महानिर्देशक समेत थिइन । बिनु बज्राचार्य: पाल्पाकी पहिलो महिला सीडीओ रामेछापकी प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्यले गत असार १० गतेदेखि जिम्मेवारी सम्हालिरहेकी छन्। यसअघि उनी पाल्पाकी प्रमुख जिल्ला अधिकारी थिइन् । पाल्पामा बज्राचार्य जिल्लाकै पहिलो महिला प्रमुख जिल्ला अधिकारी बनेकी थिइन् । २०२९ सालदेखि हालसम्म पाल्पामा ४७ जना प्रमुख जिल्ला अधिकारी बनेकोमा उनी ४६औँ प्रमुख जिल्ला अधिकारीका रूपमा पुगेकी थिइन् । उनले पाल्पामा करिब १० महिना प्रशासनिक नेतृत्व सम्हालेकी थिइन्। मिना अर्याल: बैतडीकी पहिलो महिला सीडीओ उपसचिव मिना अर्याल करिब एक महिनादेखि बैतडीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा छन् । २०२५ सालदेखि बैतडीमा ४८ जना प्रमुख जिल्ला अधिकारी भइसकेकोमा अर्याल जिल्लाको पहिलो महिला प्रमुख जिल्ला अधिकारी बनेकी छन् । अर्याल यसअघि अर्घाखाँची, डडेलधुरा र तेह्रथुममा समेत प्रमुख जिल्ला अधिकारी भइसकेकी छन् । उनको नेतृत्वमा आर्थिक वर्ष २०८०–८१ मा तेह्रथुम ७७ जिल्लाको कार्यसम्पादन मूल्याङ्कनमा आठौँ तथा कोसी प्रदेशमा पहिलो स्थानमा परेको थियो । त्यसै गरी सोही आर्थिक वर्षको साउनदेखि पुससम्म थप प्रगति गर्दै तेह्रथुमलाई ७७ जिल्लामा दोस्रो र कोसी प्रदेशमा पहिलो स्थानमा कायम राख्न पनि उनी सफल भएकी थिइन् । सीडीओ बन्नुअघि अर्याल गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागकी निर्देशक थिइन् । कोपिला राई: रुकुम पूर्वमा महिला सीडीओको निरन्तरता रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी कोपिला राईले गत असार २६ गतेदेखि जिम्मेवारी सम्हालिरहेकी छन् । यसअघि उनी इलाका प्रशासन कार्यालय कटारी, उदयपुरकी प्रमुख थिइन् । रुकुम पूर्वमा यसअघि पनि महिला नै प्रमुख जिल्ला अधिकारी थिइन् । दलित महिलाबाट पहिलो प्रमुख जिल्ला अधिकारी बनेकी सिता परियारले यसअघि रुकुम पूर्वको प्रशासनिक नेतृत्व सम्हालेकी थिइन् । उनको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचनसमेत सम्पन्न भएको थियो । यस अर्थमा रुकुम पूर्वमा महिला नेतृत्वको प्रशासनिक निरन्तरता देखिएको छ । वन्दनाकुमारी केसी: सल्यानमा तेस्रो महिला सीडीओ सल्यानकी प्रमुख जिल्ला अधिकारी वन्दनाकुमारी केसीले यही भदौ २४ गतेदेखि जिम्मेवारी सम्हालेकी हुन्। उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनसमेत शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सफल भएकी छन् । सल्यानमा प्रमुख जिल्ला अधिकारी बन्ने उनी तेस्रो महिला हुन् । यसअघि लक्ष्मीदेवी होमागाईंले २०७७ देखि २०७८ सम्म र सावित्री पुनले २०८१ देखि २०८२ सम्म सल्यानको प्रशासनिक नेतृत्व सम्हालेका थिए । केसी यसअघि गृह मन्त्रालयमा कार्यरत थिइन् । त्यहाँ उनले मानव अधिकार प्रवर्द्धन शाखा प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् । वन्दना राई: सीमा तथा अध्यागमन प्रशासनबाट तेह्रथुमको नेतृत्वमा तेह्रथुमकी प्रमुख जिल्ला अधिकारी वन्दना राईले गत पुस १५ गतेदेखि जिम्मेवारी सम्हालिरहेकी छन् । उनले गत फागुन २१ गते सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन भूमिका निर्वाह गरेकी थिइन् । यसअघि उनी गृह मन्त्रालयमा कार्यरत थिइन् । मन्त्रालयमा उनले सीमा तथा अध्यागमन प्रशासन शाखा प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् । कल्पना घिमिरे: डोटीमा दोस्रो महिला सीडीओ डोटीकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले गत मङ्सिर १ गतेदेखि जिम्मेवारी सम्हालिरहेकी छन् । उनले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन पनि शान्तिपूर्ण रूपमा सम्पन्न गराउन भूमिका निर्वाह गरेकी थिइन् । डोटीमा महिला प्रमुख जिल्ला अधिकारी बन्ने उनी दोस्रो व्यक्ति हुन् । यसअघि कल्पना श्रेष्ठ २०७९ देखि २०८० सम्म डोटीको पहिलो महिला प्रमुख जिल्ला अधिकारी बनेकी थिइन् । श्रेष्ठ अहिले उद्योग विभागको महानिर्देशक छिन् । जुनु हमाल: १३ वर्षे निजामती अनुभवसँगै डोल्पाको कमान्ड डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालले गत माघ २ गतेदेखि जिम्मेवारी सम्हालिरहेकी छन् । उनको नेतृत्वमा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन डोल्पामा पनि शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । यसअघि उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयमा लामो समय काम गरेकी छन् । १३ वर्षदेखि निजामती सेवामा रहेकी हमालसँग गृह मन्त्रालयअन्तर्गत मात्रै पाँच वर्ष काम गरेको अनुभव छ । शाखा अधिकृत हुँदा उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रशासकीय अधिकृतका रूपमा समेत काम गरेकी थिइन् । अजिता शर्मा: मुस्ताङको प्रशासनिक नेतृत्वमा मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्मा गत मङ्सिर ३ गतेदेखि जिम्मेवारीमा छन् । उनले पनि गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन मुस्ताङमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन भूमिका निर्वाह गरेकी छन् । सङ्ख्याभन्दा अगाडि बढेको महिला नेतृत्व एकै पटक १२ जिल्लाको प्रशासनिक नेतृत्व महिलाको हातमा पुग्नु केवल सङ्ख्याको विषय मात्र होइन, निजामती प्रशासनमा महिला नेतृत्वको विस्तारको एउटा उल्लेखनीय तस्बिर समेत हो । यीमध्ये केही महिला अधिकारीले दुर्गम हिमाली तथा पहाडी जिल्लामा प्रशासनिक नेतृत्व सम्हालिरहेका छन् भने केहीले उच्च सेवाग्राही चाप र जटिल प्रशासनिक वातावरण भएका जिल्लाको अनुभव हासिल गरिसकेका छन् । कसैले विपद् व्यवस्थापनमा नेतृत्व गरेका छन्, कसैले महामारीका बेला स्थानीय तहसम्म पुगेर सेवा प्रवाह गरेका छन् भने कतिपयले निर्वाचन, मानव अधिकार, सुरक्षा तथा सामाजिक सेवाका क्षेत्रमा जिम्मेवारी निर्वाह गरेका छन् । जिल्ला प्रशासन कार्यालय नागरिक र राज्यबिचको प्रत्यक्ष सम्पर्क हुने प्रमुख प्रशासनिक निकाय हो । शान्ति सुरक्षा, नागरिकता, विपद् व्यवस्थापन, निर्वाचन समन्वय तथा विभिन्न सरकारी सेवाको स्थानीय तहमा समन्वय गर्ने जिम्मेवारी सीडीओसँग हुन्छ । त्यसैले १२ जिल्लामा एकै पटक महिलाले सम्हालेको यो प्रशासनिक नेतृत्वलाई निजामती सेवामा महिलाको बढ्दो उपस्थितिको एउटा महत्त्वपूर्ण उदाहरणका रूपमा लिन सकिन्छ । तर यसको वास्तविक अर्थ भने ती पदमा महिलाको सङ्ख्या बढ्नुका साथै उनीहरूले प्रशासनिक जिम्मेवारी कसरी निर्वाह गर्छन् र नागरिकले सेवा प्रवाहमा कस्तो अनुभूति गर्छन् भन्नेबाट तय हुनेछ ।