काठमाडौँ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति पुगेको छ। महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार बाढीबाट देशभरका नौ कम्पनीका १९१ सवारीसाधनमा क्षति पुगेको हो। ती सवारीसाधनका चालक, सहचालक र यात्रु गरी ३४४ व्यक्ति बेपत्ता भएका छन्। महासङ्घका अनुसार भोटेकोशी बाढीबाट नेपाल अरनिको यातायात सेवा प्रालिअन्तर्गतका १९ बस, एक मिनिट्रक, दुई जीप र चार कन्टेनरमा क्षति पुगेको छ। सो घटनामा ५० मजदुर बेपत्ता भएका छन्। यस्तै, नमस्ते पासाङ ल्हामु यातायात प्रालि, बालाजुका १९ बसमा क्षति पुग्दा २१ जना बेपत्ता भएका छन्। भक्तपुर न्यू भिजन यातायात प्रालिका दुई कन्टेनरमा क्षति पुग्दा दुई चालक बेपत्ता भएका छन्। यसैगरी, हिमालयन यातायात कम्पनीका चार ट्रक, १६ कन्टेनर र एक सुमोमा क्षति पुग्दा १० चालक बेपत्ता भएका छन्। नेपाल टिपर तथा ट्रक व्यवसायी समितिअन्तर्गतका सात टिपर, २२ कन्टेनर, २३ ट्रक र एक ट्रेलरमा क्षति हुँदा ४५ चालक बेपत्ता भएका छन्। नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका ५९ ट्रक तथा कन्टेनरमा क्षति पुग्दा ७० जना बेपत्ता भएका छन् भने नेपाल माइक्रो कम्पनीका नौ माइक्रोबसमा क्षति पुगेको छ। यसैगरी, पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको एक बसमा क्षति पुग्दा एक चालक र २२ यात्री बेपत्ता भएका छन्। यस्तै, धादिङ मण्डली यातायात प्रालिको एक बसमा क्षति पुग्दा एक चालक र २५ तीर्थयात्री बेपत्ता भएका महासङ्घका महासचिव गौतमले बताएका छन्।