काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त भएका कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि १५ लाख ७४ हजार ५४७ रुपैयाँ सहयोग गरेका छन्। रावा बैंक पूर्वकर्मचारी संघको पहलमा संकलित उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी संघका पदाधिकारीले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई चेक हस्तान्तरण गरेका हुन्। संघमा राष्ट्रिय वाणिज्य बैंकबाट निवृत्त भएका ३ हजारभन्दा बढी पूर्वकर्मचारी आबद्ध छन्। चेक हस्तान्तरण कार्यक्रममा मन्त्री श्रेष्ठले विपद्को समयमा पूर्वकर्मचारीले देखाएको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरे। उनले नागरिक तहबाट प्राप्त सहयोगले विपत्तिसँग जुध्न सरकारलाई थप हौसला मिलेको बताए। मन्त्री श्रेष्ठले संघका हजारौँ सदस्यको योगदानबाट संकलित रकमले बाढीबाट प्रभावित परिवारलाई राहत पुर्याउन सहयोग पुग्ने उल्लेख गरे। उनले विपद्का बेला आर्थिक सहयोगसँगै सामाजिक एकता र मनोबल बढाउन यस्ता पहलको महत्वपूर्ण भूमिका रहने बताए। पूर्वकर्मचारी संघले सामाजिक उत्तरदायित्व निर्वाहसँगै सामाजिक मनोविज्ञान सुधार र वित्तीय सुशासन प्रवर्द्धनमा समेत योगदान पुर्याउँदै आएको मन्त्री श्रेष्ठको भनाइ थियो।