मकवानपुर । बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने पाठेघरको मुखको क्यान्सरलगायत जटिल रोगका बिरामीलाई सहुलियतपूर्ण उपचार सेवा उपलब्ध गराउने भएको छ । सहुलियतपूर्ण उपचार सेवाका लागि प्रदेश सरकार र काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न अस्पतालबीच ‘मुख्यमन्त्री स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत उपचार सहुलियतसम्बन्धी सम्झौता भएको छ । आज प्रदेश राजधानी हेटौँडामा आयोजित कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ र सम्बन्धित अस्पतालका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार कार्यक्रमका लागि सूचीकृत अस्पतालमार्फत जटिल रोगबाट पीडित प्रदेशवासीले सहुलियतपूर्ण उपचार सेवा प्राप्त गर्ने मन्त्री तामाङले जानकारी दिए । उक्त कार्यक्रमबाट जटिल रोगका बिरामीलाई उपचारमा राहत पुग्ने उनको विश्वास छ । “उपचार खर्चका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्थालाई कम गर्न यो कार्यक्रम प्रभावकारी हुने आशा राखेका छौँ,” उनले भने । बागमती प्रदेशमा ‘मुख्यमन्त्री स्वास्थ्य सेवा कार्यक्रम’ अन्तर्गत हाल १७ अस्पताल सूचीकृत रहेका छन् । मन्त्री तामाङका अनुसार प्रदेश सरकारले सूचीकृत अस्पतालमार्फत लक्षित बिरामीलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।