काठमाडौँ । उद्यमी प्रसिद्धबहादुर पाण्डेले ‘प्राइममिनिस्टर एण्ड प्रस्पेरिटी’ पुस्तक सार्वजनिक सार्वजनिक गरेका छन्। पाण्डेले नेपालको अर्थतन्त्रको आकाश १०० अर्ब डलरको बनाउने योजना समेटिएको उक्त पुस्तक सार्वजनिक गरेका हुन् । पूर्वाधार, दूरसञ्चार, औद्योगिक सहकार्य, लगानी, आतिथ्य तथा पर्यटन क्षेत्रमा तीन दशकभन्दा लामो समय काम गरेका पाण्डेले पुस्तकमा नेपालको अर्थतन्त्रको आकारलाई कसरी १०० अर्ब डलरको बनाउने सन्दर्भमा नेपालको सम्भावनालाई मापनयोग्य आर्थिक उपलब्धिमा रूपान्तरण गर्ने उपायबारे पुस्तकमा चर्चा गरेका छन् । पाण्डे होटल एसोसिएसन नेपालका पूर्वअध्यक्ष तथा हाल सांग्रिला हस्पिटालिटी ग्रुपका अध्यक्ष छन् । पाण्डेले नेपालमा अल्काटेल र मित्सुबिसी जस्ता अन्तरराष्ट्रिय कम्पनीलाई नेपाल भित्र्याउन भूमिका खेलेका छन् । साथै दूरसञ्चार क्षेत्रको विकासमा समेत योगदान पुर्याएका छन् । पुस्तकमा पाण्डेले नेपालको प्रमुख आर्थिक चुनौती राष्ट्रिय प्रतिबद्धता र सम्भावनालाई उत्पादन, निर्यात, रोजगारी, लगानी तथा सार्वजनिक आम्दानीमा रूपान्तरण गर्न नसक्नु विषय चर्चा गरेका छ्न् । पुस्तकमा दक्षिण कोरिया, मलेसिया, भियतनाम, भुटान र सिङ्गापुरबाट पाण्डेले प्राप्त गरेको अनुभव समेत समेटिएको छ । नेपालको भौगोलिक अवस्था, स्रोत र सम्भावनालाई दीर्घकालीन आर्थिक वृद्धिमा रूपान्तरण गर्न प्रभावकारी कार्यान्वयन र समन्वित शासन प्रणाली आवश्यक रहेको पाण्डेको निष्कर्ष छ । हाल यो पुस्तक अमेजन र एप्पल बुक्सका साथै विभिन्न अनलाइनमा समेत उपलब्ध गराइसकिएको छ । पाण्डेले पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण आम्दानी नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् ।