काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री खनालले ‘विगतको बोझ’ (वल्ड ब्यागेज) भन्ने अभिव्यक्ति नेपालको गरिमामय इतिहास, राष्ट्रिय विरासत, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय हितको रक्षा र ऐतिहासिक दस्तावेजको संरक्षणप्रति लक्षित नभएको स्पष्ट पारे । बैठकमा सांसद सीता थपलियाले परराष्ट्रमन्त्री खनालले भारत भ्रमणका क्रममा द्विपक्षीय वार्तामा ‘वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको’ अभिव्यक्ति दिनुभएका सन्दर्भमा त्यसको अर्थ, विगतका सरकारका कुन–कुन निर्णय ‘ब्यागेज’ हुन्, लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानमा समावेश गर्ने निर्णय ‘पुरानो ब्यागेज’ हो कि होइन तथा विगतका सरकारका परराष्ट्र नीतिमा के–कस्ता गल्ती भए भन्ने विषयमा प्रश्न गरेकी थिइन् । उक्त प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे । नेपालले छमेकी एवं मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई सदैव उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उनले ती देशसँग द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने दिशामा उच्चस्तरीय भ्रमणहरूको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे । छिमेकी मुलुक भारत र चीनको पछिल्लो औपचारिक भ्रमणबारे आफूले सदनलाई जानकारी गराइसकेको उनले स्पष्ट पारे । लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको राजनीतिक नक्सा र त्यसलाई अनुमोदन गर्ने संविधान संशोधन गर्ने संसद्को सर्वसम्मत निर्णय समग्र नेपाली जनताको साझा राष्ट्रिय सङ्कल्प भएको मन्त्री खनालले बताए । “यो हाम्रो संवैधानिक र सार्वभौम दस्तावेज हो, जसलाई कुनै पनि सन्दर्भमा ‘बोझ’ मान्न सकिँदैन”, उनले भने । मन्त्री खनालले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, सिमानाको रक्षा र स्वाभिमानलाई अक्षुण्ण राख्ने विषय कुनै पनि सरकारको सर्वोपरि एवं स्थायी जिम्मेवारी भएको बताए । परराष्ट्रमन्त्री खनालले वर्तमान सरकार कुनै पनि पूर्वाग्रह, संकीर्णता र अनावश्यक अविश्वासको बन्दी नबनी पारस्परिक समानता, सम्मान, विश्वास र आर्थिक साझेदारीका आधारमा छिमेकी तथा मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई रूपान्तरणकारी दिशा दिन चाहेको स्पष्ट पारे । “राष्ट्रिय हितलाई सर्वोपरि राख्दै स्पष्ट, परिपक्व र परिणाममुखी कूटनीतिमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्नु नै वर्तमान सरकार र परराष्ट्र मन्त्रालयको स्पष्ट दृष्टिकोण रहेको व्यहोरा अनुरोध छ”, मन्त्री खनालले भने ।