गण्डकी । तीज पर्वसँगै नेवार समुदायमा भदौरे जात्राको मैजारो भएको छ । बर्खे नाचले चिनिने यस जात्रामा लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायतका नाच तथा झाँकी प्रदर्शन गर्ने गरिन्छ । जनैपूर्णिमाको भोलिपल्टदेखि भदोरै जात्राको रौनक सुरु हुने भएपनि नेवार जातिको लोकप्रिय नाच लाखे भने गठेमङ्गल पर्वदेखि नचाउने चलन छ । ठूला चाडबाड आउनुअघि चल्ने यस्ता सांस्कृतिक जात्रा र नाचले पर्वमय माहोलको छनक दिने गर्छन् । पर्वतको कुश्मास्थित ‘शताब्दी घर’को आँगन पनि सोमबार साँझ लाखे नाचले गर्मायो । पुरानो बजार क्षेत्रमा सक्रिय लाखे एकीकृत समाजले यस वर्षको अन्तिम लाखे नाच प्रदर्शन गरेको थियो । यससँगै वर्षदिनका लागि लाखे नाचलाई बिदाइ गरिएको स्थानीयवासी जयन्द्रकुमार जोशीले बताए । कुश्मामा साउन कृष्ण औँशी अर्थात् भुते औँशीदेखि तीजसम्म लाखे नाच देखाउने परम्परा रहेको उनको भनाइ छ । यसबीचमा रोपाइँ जात्रा, गाईजात्रा, बाघ जात्रा र हनुमान नाच प्रदर्शन गर्ने गरिएको जोशीले बताए । करिब अढाई वर्षदेखि कुश्मामा लाखे नाचको सुरुवात भएको मानिन्छ । “हामीले जान्दैखेरी लाखे नाच देखाउन सुरु गरिएको थियो, नेवारी संस्कृतिको संरक्षण गर्न बर्सेनि लाखे नाच प्रदर्शन गर्दै आएका छौँ”, उनले भने । नेवार समुदायले निकाल्ने लाखे नाचमा अन्य जातजातिको पनि सहभागिता रहने गरेको छ । लाखे बनेर नाच्ने काम नेवार समुदायका व्यक्तिबाट हुने भए पनि यसको तयारीदेखि व्यववस्थापकीय काममा कुश्मावासी सबैको हातेमालो रहँदै आएको छ । संस्कृतिकर्मी शान्तिनारायण श्रेष्ठका अनुसार भदौरे जात्रामा लाखे नाचसहित गाईजात्रा, नागा नाच, रोपाइँ जात्रा, बाघ जात्रा, कृष्ण जात्रा, हनुमान नाच, बकुल्ला नाच आदि पर्छन् । संरक्षण अभावमा बकुल्ला नाच र हनुमान नाच भने लोप हुने अवस्थामा पुगेको उनले बताए । विगतका वर्षमा झैँ यस वर्ष पनि लाखे नचाउँदै नगर परिक्रमा गर्ने, विविध परम्परागत वेषभूषा र चरित्रमा लाखे नाच देखाइएको लाखे एकीकृत समाजका कार्यक्रम संयोजक रजतमान श्रेष्ठले बताए । “किंवदन्ती अनुसार भूतप्रेतहरू मानिसमा लागेर सताउने भएकाले उनीहरूले मानिसलाई दुःख नदिउन् भन्नका लागि लाखे नाचको प्रचलन सुरु भएको हो”, उनले भने । उनले लाखे नाचजस्ता नेवार समुदायमा प्रचलित परम्परागत नाच र संस्कृति पुस्तान्तरणको खाँचो औँल्याए । संरक्षणकर्मी आरके अदीप्त गिरीले लाखे नाच अमूर्त सांस्कृतिक सम्पदाका रूपमा रहेको बताए । “२५० वर्षअघि भक्तपुरबाट आएको यो परम्परालाई जोगाउन नेवार समुदायको सक्रियता मात्र पर्याप्त छैन”, उनले भने, “यसका लागि राज्यले नीतिगत प्रबन्धसहित दीर्घकालीन सहयोग गर्न आवश्यक छ ।” सदियौँदेखि मनाउँदै आइएका स्थानीय मौलिक कला, संस्कृति, पर्व, परम्परा र वेषभूषाको संरक्षण एवं सम्वद्र्धनका ‘शताब्दी घर’को परिकल्पना एवं संरक्षण गरिएको गिरीले बताए । लाखे जस्तै विभिन्न समुदायमा प्रचलित नाचगानलाई जोडेर ‘शताब्दी घर’ मा मासिक शृङ्खला सञ्चालन गर्ने योजना बनाइएको उनको भनाइ छ । समुदायसँगै स्थानीय तहले पनि कला, संस्कृति र सम्पदा संरक्षणमा ध्यान दिनुपर्ने गिरीले बताए । के हो लाखे नाच