पाल्पा । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि यहाँका स्थानीय तहले रु एक करोड ७१ लाख ३१७ सहयोग गर्ने निर्णय गरेका छन् । रैनादेवी छहरा, माथागढी, तिनाउ, पूर्वखोला, रिब्दीकोट, रम्भा, बगनासकाली, निस्दी गाँउपालिका र रामपुर तथा तानसेन नगरपालिकाले बाढीपीडितका लागि राहत स्वरुप उक्त रकम सहयोग गर्ने निर्णय गरेका हुन् । भोटेकोशी क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि स्थानीय तह, सङ्घसंस्था तथा विभिन्न क्षेत्रबाट राहत र पुनःस्थापनाका लागि सहयोग जुटाउने क्रम चलिरहेका बेला यहाँका स्थानीय तहले आर्थिक सहायत दिने निर्णय गरेका हुन् । रैनादेवी छहरा गाउँपालिकाले रु ३५ लाख ४४ हजार ३४५ राहत उपलब्ध गराउने निर्णय गरेको छ । पालिकाले स्थानीय विपद् व्यवस्थापन कोषबाट रु दुई लाख ५० हजार, जनप्रतिनिधिबाट रु दुई लाख पाँच हजार ९५०, कर्मचारीबाट रु छ लाख ४८ हजार ८१, शिक्षकबाट रु २४ लाख २५ हजार ३१४ र तीज गीत कार्यक्रमलाई छुट्याएको १५ हजार बजेट कटौती गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरिएको अध्यक्ष रुक्माङ्गत भट्टराईले बताए । विपद्का बेला मानवीय सहयोग र स्थानीय सरकारको सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै कार्यपालिकाले सहयोग गर्ने निर्णय गरेको उनले बताए । माथागढी गाउँपालिकाले रु ३४ लाख ४६ हजार, रिब्दीकोट गाउँपालिकाले रु ३१ लाख ५० हजार पूर्वखोला गाउँपालिकाले रु २९ लाख ७५ हजार ९७२, बगनासकाली गाउँपालिकाले रु दुई लाख ५० हजार, रामपुर नगरपालिकाले रु दुई लाख ५० हजार, रम्भा गाउँपालिकाले रु दुई लाख ५० हजार र निस्दी निस्दी गाउँपालिकाले रु एक लाख कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । रामपुर नगरपालिकाले प्रत्येक वर्ष गर्दै आएको उपप्रमुख तीज विशेष कार्यक्रम स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा भदौ १३ गते बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले समेत बाढीपीडितका लागि राहत सामग्री सङ्कलन तथा पठाउने कार्यलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन एकद्वार प्रणाली अपनाउने निर्णय गरेको छ ।