ढुंगाना र नेपालीको नयाँ पुस्तक ‘देहूडु : अलौकिक ऊर्जा’ बजारमा

  • मङगलबार ३० भौ २०८३ ०७:४९ AM
काठमाडौं । संस्कृति, सम्पदा र इतिहास समेटिएको नयाँ पुस्तक पाठकमाझ आएको छ । कर्णाली प्रदेशको कालिकोटस्थित पचालझरना गाउँपालिका–५ स्थित बाँझकोटमा रहेको देहूडु र यससँग जोडिएको परम्परा, संस्कृति तथा लोकविश्वासलाई समेटेर ‘देहूडु : अलौकिक ऊर्जा’ नामक पुस्तक तयार भएको छ । गोपीकृष्ण ढुंगाना र डीबी नेपाली ‘दमु’ यस पुस्तकका लेखक हुन् । फलामको लौरो हजारौं दर्शकले हेर्दाहेर्दै पिटिक्क पार्ने अलौकिक शक्ति यस कृतिको मुख्य विषय हो । पुस्तक इम्प्रिन्ट पब्लिशर्सबाट प्रकाशित भएको हो ।  पुस्तकमा देहूडु जात्रा, कुमाल समुदायको जीवनशैली, वंशावली, सामाजिक जीवन, धार्मिक विश्वास, संस्कार तथा स्थानीय लोककथालाई विभिन्न प्रसङ्ग र स्थलगत अध्ययनका आधारमा प्रस्तुत गरिएको छ । देहूडुलाई प्रकृति, कुलदेवता, आस्था र मानव जीवनबीचको सम्बन्धका रूपमा पुस्तकले व्याख्या गरेको छ । पुस्तकको मुख्य आकर्षणका रूपमा देहूडु जात्रामा धामीले फलामे लठ्ठी हातले भाँच्ने परम्पराको वर्णन गरिएको छ । पुस्तकमा यस घटनालाई स्थानीय समुदायको आस्था, साधना र पुर्खाको आशीर्वादसँग जोडेर प्रस्तुत गरिएको छ । लेखकहरूले यस परम्पराले आधुनिक विज्ञानसमेतका लागि जिज्ञासा सिर्जना गर्ने दाबी गरेका छन् । देहूडु जात्रालाई नेपालमा मात्र नभई विश्वकै लागि विशेष र दुर्लभ सांस्कृतिक परम्परा बनाउन सकिने सम्भावनासमेत पुस्तकमा औंल्याइएको छ । यसको संरक्षण र प्रचार–प्रसारबाट कर्णालीको मौलिक संस्कृति तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । लेखकद्धय ढुंगाना र नेपालीले लामो अनुसन्धान, स्थलगत अध्ययन, भेटघाट र संकलनबाट पुस्तक तयार गरेको बताएका छन् । पुस्तकमा देहेडुले विश्व रेकर्ड राख्ने साथै यही संस्कृति, सम्पदा र इतिहासले नेपाललाई विश्वमा चिनाउने पर्याप्त आधार पनि दिएको छ ।  पुस्तकले देहूडु परम्परालाई दस्तावेजीकरण गर्दै भावी पुस्तालाई स्थानीय इतिहास, संस्कृति र लोकजीवन बुझ्न महत्वपूर्ण सामग्री उपलब्ध गराउने अपेक्षा गरिएको छ ।