तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’को विशेष प्रदर्शन उत्साहजनक

  • सोमबार २९ भौ २०८३ ०९:१५ PM
काठमाडौँ। हुत्त सन्जय लामाको लेखन तथा निर्देशनमा निर्माण भएको तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन उत्साहजनक रूपमा सम्पन्न भएको छ। तामाङ भाषा, संस्कृति, मौलिक जीवनशैली र प्रेमकथालाई कथाको केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले विशेष प्रदर्शनमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ। दुई दिनको अवधिमा चलचित्रका तीनवटा विशेष शो प्रदर्शन गरिएको थियो। तीनवटै शोमा दर्शकको उल्लेख्य उपस्थिति रहेको र चलचित्रले उत्साहजनक कलेक्सन गर्न सफल भएको निर्माण पक्षको दाबी छ। चलचित्र हेर्न पुगेका दर्शकले कथावस्तु, कलाकारको अभिनय, संवाद तथा तामाङ समाजको मौलिक परिवेशलाई पर्दामा प्रस्तुत गरिएको शैलीको प्रशंसा गरेका छन्। चलचित्रका लेखक तथा निर्देशक हुत्त सन्जय लामाका अनुसार ‘ङाला सेम्जो’ मनोरञ्जनका लागि मात्र निर्माण गरिएको चलचित्र नभई तामाङ समुदायको भाषा, संस्कृति, संस्कार, प्रेम, सामाजिक सम्बन्ध र मौलिक जीवनशैलीलाई नयाँ पुस्तामाझ पुर्‍याउने प्रयास पनि हो। 'हाम्रो भाषा, संस्कृति र मौलिकता हाम्रो पहिचान हो। चलचित्रमार्फत त्यसलाई संरक्षण र प्रवर्द्धन गर्दै दर्शकमाझ पुर्‍याउने प्रयास गरेका छौँ,' निर्देशक लामाले बताए। विशेष प्रदर्शनमा दर्शकबाट प्राप्त प्रतिक्रियाले आगामी दिनमा अझ राम्रो काम गर्न ऊर्जा मिलेको उनको भनाइ छ। चलचित्रमा इश्वर पाख्रिन, विजय थापा मगर, सुनिता लुङ्गबा ताराथोकर लगायतका कलाकारले मुख्य तथा महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन्। कलाकारको अभिनयसँगै तामाङ समुदायको सामाजिक परिवेश, संस्कृति र भावनात्मक पक्षलाई चलचित्रमा प्रस्तुत गरिएको छ। विशेष प्रदर्शनमा चलचित्र हेरेका दर्शकले कथावस्तु र कलाकारको अभिनयसँगै पर्दामा देखाइएको तामाङ संस्कृतिको मौलिक प्रस्तुति विशेष लागेको प्रतिक्रिया दिएका छन्। तामाङ भाषामै कथा प्रस्तुत गरिनु र आफ्नै समुदायको जीवनशैलीलाई पर्दामा देख्न पाउनु चलचित्रको महत्वपूर्ण पक्ष भएको उनीहरूको भनाइ थियो। बाढीपीडितलाई सहयोग गर्ने उद्देश्य ‘ङाला सेम्जो’को विशेष प्रदर्शन मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको थियो। भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले विशेष प्रदर्शन आयोजना गरिएको निर्माण पक्षले जनाएको छ। विशेष प्रदर्शनबाट संकलित रकमको १० प्रतिशत रकम भोटेकोशी बाढीपीडित परिवारलाई राहतस्वरूप सहयोग गर्ने प्रतिबद्धता निर्माण पक्षले गरेको छ। विपद्को समयमा कला र कलाकारले समाजप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको निर्देशक लामाले बताए। चलचित्र प्रदर्शनमार्फत मनोरञ्जन प्रदान गर्नुका साथै विपद्मा परेका परिवारलाई सहयोग गर्ने प्रयासले विशेष प्रदर्शनलाई थप अर्थपूर्ण बनाएको आयोजकको भनाइ छ। चलचित्र विकास बोर्डमा विशेष कार्यक्रम चलचित्रको विशेष प्रदर्शनसँगै नेपाल चलचित्र विकास बोर्डमा विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो। पहिलो दिनको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोले गरेका थिए भने दोस्रो दिनको कार्यक्रमको उद्घाटन नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोन–तामाङले दीप प्रज्वलन गरेर गरेका थिए। पहिलो दिन शो हुनुअघि दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै ङो मोलम गरिएको थियो। कार्यक्रममा नेपाल आदिवासी जनजाति चलचित्र संघका अध्यक्ष भुइसाल लामा, तामाङ चलचित्र संघका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार एवं अभिनेता कुमार मोक्तानलगायतको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा तामाङ चलचित्र क्षेत्रका कलाकार, निर्माता, निर्देशक, प्राविधिक, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा चलचित्रप्रेमी दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थित अतिथिले तामाङ चलचित्रले आफ्नो भाषा, संस्कृति, इतिहास, परम्परा र मौलिक पहिचानलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलिरहेको बताएका थिए। उनीहरूले ‘ङाला सेम्जो’ जस्ता चलचित्रले तामाङ समुदायको मौलिक कथा र जीवनशैलीलाई राष्ट्रिय चलचित्रको मूलधारमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। असोजदेखि देशभर प्रदर्शनको तयारी विशेष प्रदर्शनबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र दर्शकको मागलाई ध्यानमा राख्दै निर्माण पक्षले चलचित्रलाई असोज महिनादेखि देशका विभिन्न स्थानमा एकैसाथ प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ। विशेष प्रदर्शनका क्रममा दर्शकबाट प्राप्त प्रतिक्रियालाई आधार बनाएर आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा गर्दै देशका विभिन्न सहर तथा तामाङ समुदायको बाक्लो बसोबास रहेका क्षेत्रमा चलचित्र प्रदर्शन गर्ने योजना निर्माण पक्षको छ। निर्माण पक्षका अनुसार विशेष प्रदर्शनमा देखिएको दर्शकको उत्साहले चलचित्रको नियमित प्रदर्शनका लागि थप हौसला मिलेको छ। चलचित्रको निर्माण टिम एसएमएम मिडिया मुभिज् प्रालिको प्रस्तुतिमा निर्माण भएको ‘ङाला सेम्जो’का निर्माता लोसाङ लामा, ईकेश लामा र विजय थापा मगर रहेका छन्। चलचित्रमा सुनिता लुङ्गबा ताराथोकर, ईश्वर पाख्रिन, विजय थापा मगर, जनकबहादुर स्याङतान, भुइसाल लामा, राम तामाङ, चन्द्रमाया दोङ, राजकुमार स्याङतान, राजकुमार बल, रामशरण श्रेष्ठ, साइला जिम्बा, भावना भुजेल तथा बाल कलाकार कविता थोकर लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको छायांकन प्रजल राउतले गरेका छन्। सम्पादन, कलर मिक्सिङ तथा मेक बहादुर थापाले सम्हालेका छन्। चलचित्रका गीतकार सागर दोङ, संगीतकार तथा गायक अर्पण थिङ तामाङ तथा गायिका सुमिनालो लमु शेर्पा रहेका छन्। त्यस्तै, चलचित्रमा कोरियोग्राफर निता, निर्देशक गोविन्द प्रभात विक्रम लुङ्गबा, मेकअपतर्फ नरेश खरेल तथा जानु आले मगरको योगदान रहेको निर्माण पक्षले जनाएको छ। दुई दिनमा तीन शो प्रदर्शन हुँदा दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया, उल्लेख्य सहभागिता र उत्साहजनक कलेक्सनले ‘ङाला सेम्जो’को निर्माण टिमलाई थप उत्साहित बनाएको छ। मनोरञ्जनसँगै तामाङ भाषा, संस्कृति र मौलिक पहिचानलाई पर्दामा प्रस्तुत गर्ने तथा विपद्मा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यसहित आयोजना गरिएको विशेष प्रदर्शनलाई सहभागीले सकारात्मक र अर्थपूर्ण पहलका रूपमा लिएका छन्। विशेष प्रदर्शन सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने दर्शक, अतिथि, कलाकार, निर्माता, निर्देशक, प्राविधिक, सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा सम्पूर्ण सहयोगीप्रति चलचित्र निर्माण पक्षले आभार व्यक्त गरेको छ।